रौतहट,रौतहटको चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको पश्चिमतर्फको पहिलो लच्कामा मंगलवार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।त्यसैगरी चन्द्रनिगहापुरमै भएको यात्रु बस दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन ।
लच्कानजिक सर्लाहीबाट निजगढतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७०४९ नम्बरको मोटरसाइकल सडकबाट तल खसेर दुर्घटना हुँदा चालक सर्लाहीको पर्सा गाउँपालिका–६ बस्ने २७ वर्षीय साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते अन्सारीलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा ल्याउनेक्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनालगत्तै ट्राफिक प्रहरी टोली घटनास्थल पुगेको थियो ।यस्तै रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । मंगलवार बिहान पूर्वपश्चिम लोकमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर २ लच्का नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार बसमा २० यात्रु सवार रहेकोमा १२ जना घाइते भएका हुन् । बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदमबहादुर बस्नेत र सहचालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचौकी पौराहीको नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिनुभयो ।घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



















