नयाँदिल्ली,भारतीय योगगुरु बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलीले बनाएको सोन पापडी खानको लागि असुरक्षित पाइएको छ ।उत्तरखन्ड राज्यको पिथौरागढको मुख्य न्यायिक मजिस्ट्रेट सञ्जय सिंहको अदालतले पतञ्जली आयुर्वेद लिमिटेड कम्पनीका सहायक महाप्रबन्धक (एजीएम), वितरक कान्हाजी प्राइभेट लिमिटेडका सहायक प्रबन्धक र एक व्यापारीलाई असुरक्षित सोन पापडी बिक्री गरेको मामिलामा ६÷६ महिना कैद सजाय सुनाएको छ ।अदालतले तीनै जनालाई ४० हजार जरिवाना तिर्न आदेश पनि दिएको छ । जरिवाना नतिरेमा दोषीहरूले थप कैद सजाय भोग्नु पर्ने बताइएको छ ।
भारतको खाद्य सुरक्षा विभागले अलैंची सोन पापडीको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो ।
जाँचको क्रममा सोन पापडीको ती नमुना असुरक्षित पाइएको थियो । राज्यको प्रयोगशालाको परीक्षणबाट आएको प्रतिवेदनमा चित्त नबुझेपछि पतञ्जलीले नमुना परीक्षणका लागि गाजियाबादस्थित रेफरल ल्याबमा पठाएको थियो । यहाँ पनि नमुना असुरक्षित नै पाइएको थियो ।


















