सिमरा,गढीमाई साझेदारी वन उपभोक्ता समितिको चौंथो साधारण सभा शनिवार पथलैयास्थित समितिको कार्यालयमा सम्पन्न भएको छ ।समितिका अध्यक्ष रामएकवाल प्रसाद तेलीको सभाध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रूपमा साझेदारी वन उपभोक्ता महासङ्घका केन्द्रीय अध्यक्ष तथा कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी उपस्थित हुनुभएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले वन संरक्षण र सामुदायिक विकासमा गढीमाई साझेदारी वन उपभोक्ता समूहको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “यो समूहले वन संरक्षण र दिगो उपयोगमा महत्वपूर्ण भूमिका खेलेको छ । सामुदायिक वनको माध्यमबाट स्थानीय समुदायको आर्थिक र सामाजिक विकास सम्भव छ, र यसका लागि सबैको सहकार्य आवश्यक छ ।” उहाँले आगामी दिनमा थप प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुभयो ।
समितिका अध्यक्ष रामएकवाल प्रसाद तेलीले समूहको प्रगति र चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, “हाम्रो समूहले वन संरक्षण र सामुदायिक विकासमा उल्लेखनीय कार्य गरेको छ । यस सभाले हामीलाई नयाँ दिशा र ऊर्जा प्रदान गरेको छ । हामीले प्रत्येक वर्ष साधारण सभा आयोजना गर्ने निर्णय गरेका छौँ, जसले पारदर्शिता र जबाफदेहिता कायम राख्न मद्दत गर्नेछ ।” उहाँले उपभोक्ता, कर्मचारी र सरोकारवालाहरूको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

सभामा वन संरक्षण, दिगो उपयोग, र सामुदायिक विकासका लागि विभिन्न छलफल र निर्णयहरू भएका छन । आयोजक समितिका अनुसार, सभाले प्रत्येक वर्ष साधारण सभा आयोजना गर्ने र पारदर्शिता कायम राख्न आय–व्यय विवरण प्रस्तुत गर्ने निर्णय गरेको छ । विगतमा दुई वर्षको अन्तरालमा साधारण सभा भएको भन्दै भएको विरोधलाई सम्बोधन गर्दै यो निर्णय लिइएको हो ।

सभाले गढीमाई साझेदारी वन उपभोक्ता समूहको कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।सभामा विशिष्ट अतिथिहरूमा मधेस प्रदेश वन निर्देशनालयका निर्देशक जग्गनाथ जयसवाल, डिभिजन वन कार्यालय सिमरा, बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झा, नेपाल वन निगम लिमिटेड पथलैयाका प्रमुख सुमनकुमार सिंह, साझेदारी वन उपभोक्ता महासङ्घ मधेस प्रदेशका महासचिव रजनीकान्त झा, तामगढी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रवीन्द्र पनुहर, सब–डिभिजन वन कार्यालय पथलैयाका प्रमुख विमल कुमार ठाकुर, सञ्चारकर्मी राजु बैठा धोबीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply