वीरगञ्ज,विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिकाको– १९ स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक शशी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षक यादवको कुटपिटबाट गोल्डेन गल्ब स्कुलका कक्षा ३ का एक विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।घाइते विद्यार्थीका अभिभावकहरुका अनुसार विद्यालयमा दुई दिन अनुपस्थित भएको भन्दै यादवले उनीहरुमाथि कुटपिट गरेका थिए । बहुदरमाई नगरपालिका– ६ गम्हरिया निवासी घाइते विद्यार्थी प्रत्येक दिन गाउँबाट स्कुल पढ्न जाने गरेको अभिभावकहरुले दाबी गरेकाछन् ।शिक्षकको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका विद्यार्थी अपराह्न ४ बजे घर पुगेपछि मात्र घटना बारे अभिभावकहरुले जानकारी पाएका थिए । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक यादव अहिले प्रहरी नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोस्ट विन्दवासिनीका प्रहरी सहायक निरीक्षक (असई) रामबाबु गुप्ताले बताउनुभयो ।

















