सिम्रौनगढ,बाराको सिम्रौनगढसँग सिमाना जोडिएको भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको घोडासहनमा शनिवार राति पाँच जना विदेशी नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले संयुक्त रूपमा गरेको कारबाहीमा सुडानी नागरिक ४४ वर्षीय अब्दुल फितह, ३८ वर्षीय रमा सिद्दीकी, २७ वर्षीय अली अब्दुल गफ्फार, ३७ वर्षीय अहमद डफआला र ३२ वर्षीय बोलिभियन नागरिक मिगुएल सोलानो रहेका छन् ।मोतीहारी प्रहरीले जनाएको अनुसार पक्राउ परेकाहरूको साथबाट उर्दू भाषामा लेखिएका नोट, केही पुस्तक र कागजातहरू बरामद गरिएको छ । घटनाबारेमुख्यालयलाई जानकारी दिइसकिएको र अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार शनिवार राति करिब ९ बजे सूचना प्राप्त भएपछि ७१औँ बटालियन एसएसबीका अधिकृतहरूले कारबाही थालेका थिए । सूचना अनुसार पाँच जना विदेशी नागरिक अगर्वा गाउँबाट निस्किएका थिए । तीमध्ये चार जना स्कर्पियोमा सवार थिए भने एक जना मोटरसाइकलमा बसपार्क पुगेका थिए । उनीहरूले पटना जाने “जय माता दी” नामक बसको टिकट पहिले नै काटिसकेका थिए ।घटनाको जानकारी एसएसपीसम्म पुगेसँगै एसएसबी सहायक कमाण्डेन्ट विश्वजित तिवारीले मोतिहारीका एसपी सुवर्ण प्रभातलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले बसपार्कमा छापा मारेर चार जनालाई नियन्त्रणमा लियो भने पाँचौँ व्यक्ति केही समयपछि आफैँ घोडासहन प्रहरी चौकीमा पुगेका थिए । पक्राउ पर्नेहरू बस चढ्न बसपार्क नजिक पर्खिरहेका बेला नियन्त्रणमा लिइएको बताइएको छ ।
एसएसबी अधिकारीहरूले उनीहरू नेपाल सीमा पार गरी भारत प्रवेश गरेको आशङ्का गरेका छन् । बरामद सामग्रीलाई आपत्तिजनक मान्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धानमा सुडानी नागरिकहरूले आफूहरू हैदराबादमा अध्ययनरत विद्यार्थी भएको दाबी गरेका छन् । उनीहरूको उमेर ३० देखि ४४ वर्षसम्म रहेको बताइएको छ । तर, नेपाल हुँदै भारत प्रवेश गर्ने विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेको प्रहरीको भनाइ छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय इन्टेलीजेन्स ब्युरोलाई समेत जानकारी दिइएको छ ।
सप्तरीमा दुई विदेशी महिला पक्राउ
जनकपुरधाम,सप्तरी प्रहरीले दुई जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीस्थित चन्ही–बेल्ही भित्रि सडक खण्डबाट प्रहरीले दुई विदेशी महिलालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा परेकामध्ये उज्जवेकिस्तान की ३९ वर्षीया फेरुजा याख्शिमुरातोवा र ३९ वर्षीया शोखिस्ता अकबारोवा रहनु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
शनिबार साँझ करिब ८ बजे प्रहरी चौकी बेल्हीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले शङ्का लागेर चेक जाँच गर्ने क्रममा नेपालतर्फबाट भारततर्फ जाँदै गरेको बिआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।भारत बिहार राज्य मधुबनी जिल्ला ग्रामपञ्चायत लालमनिया डुमरवाना बस्ने २० वर्षीय नितिशकुमार बिन्दाले चलाएको मोटरसाइकलको पछाडि सवार रहेकी दुवैजना विदेशी महिलालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

Leave a Reply