कलैया,ग्रामीण उत्थान अभियान संस्थाद्वारा स्थापित निःशुल्क कपडा बैंकको आयोजनामा सोमबार कलैयाको भरत चौकमा असहाय, विपन्न तथा गरिब समुदायलाई लक्षित गरी कपडा वितरण गरिएको छ ।चिसो मौसम बढ्दै गइरहेको अवस्थामा सडकमा आश्रित व्यक्ति, मजदुर, वृद्धवृद्धा र आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै निःशुल्क कपडा बैंकका अध्यक्ष मोकद्दम अन्सारीले समाजमा रहेका सम्पन्न व्यक्तिहरूले प्रयोग नगरेका तर प्रयोगयोग्य कपडा सहयोग गरेमा गरिब तथा असहाय वर्गका लागि ठूलो राहत पुग्ने बताउनुभयो । उहाले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कपडा वितरण कार्यक्रममा स्थानीय युवा, स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपडा पाएपछि लाभग्राहीहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले चिसो मौसममा ठूलो सहारा मिलेको प्रतिक्रिया दिएका छन् ।

निःशुल्क कपडा बैंकले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी समाजका कमजोर वर्गको जीवन सहज बनाउने उद्देश्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको कपडा बैंकका संरक्षक साजिर मन्सुरले जानकारी दिनुभयो ।

Leave a Reply