सिमरा,हलखोरिया साझेदारी वनको करिब ५० बिघा जग्गा उपलब्ध गराउन नेपाली सेनाले दबाब दिएपछि साझेदारी वन र सेनाबीच द्वन्द्व बढेको छ ।बारा, पर्सा र रौतहट जिल्ला कार्यक्षेत्र अन्तर्गत रहेका सेनाका लागि तालिम केन्द्र निर्माण गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित साझेदारी वनको ५० बिघा जग्गा उपलब्ध गराउन नेपाली सेनाले दबाब दिएपछि दुई निकायबीच द्वन्द्व बढेको हो ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पिलुवा चोकदेखि ३ किलोमिटर दक्षिणतर्फ हुलाकी सडकखण्डमा पर्ने साझेदारी वनको जग्गा उपलब्ध गराउन सेनाले डिभिजन वन कार्यालयलाई पत्राचार गरेको थियो । सेनाको पत्रमा वन कार्यालयले साझेदारी वन व्यवस्थापन उपभोक्ता समिति आफैँमा स्वायत्त निकाय भएकाले वन समूहको साधारणसभाको निर्णय बिना केही गर्न नसक्ने जवाफ दिएको छ ।वन कार्यालयले हलखोरिया साझेदारी वन व्यवस्थापन समितिलाई विशेष साधारणसभा बोलाएर सो जग्गाको भोगाधिकार सेनालाई दिन मिल्ने÷नमिल्ने सम्बन्धमा निर्णय गरेर पठाउन असार ७ गते पत्र पठाएको थियो ।
वनको पत्रको आधारमा साझेदारी वनले साउन १३ गते दुर्गा नमुना मावि कलैयामा विशेष साधारणसभा बोलाएको थियो । जसमा बहुमत सदस्यले वन क्षेत्रको हकभोगमा रहेको जग्गा सेनालाई नदिने निर्णय गरेको थियो ।साझेदारी वन समूहको सो निर्णयपछि पनि नेपाली सेनाले सोही जग्गा उपलब्ध गराउन समितिमाथि निरन्तर दबाब दिँदै आएको डिभिजन वन कार्यालय र साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारीहरुले जनाएकाछन ।हलखोरिया साझेदारी वन समितिका अध्यक्ष विकल्प भट्टराईले सेनालाई जग्गा नदिने आधिकारिक निर्णय वन कार्यालयमा पठाए पनि सेनाको तर्फबाट सोही जग्गाको लागि दबाब आइरहेको बताउनुभयो ।
वन समूहले जग्गाको भोगाधिकार सेनालाई दिने निर्णय गरेको खण्डमा मन्त्रीपरिषद्बाट अन्तिम निर्णय गरेर वनको जग्गा सेनालाई भोगचलनका लागि उपलब्ध गराउन सकिने प्रावधान छ ।
यता डिभिजन वन कार्यालय बाराले भने सेनाले विकल्प नदिइकन साझेदारीको वनको एउटै जग्गामा दबाब दिँदै आएको जनाएको छ । वन समूहले आफ्नो जग्गा सेनालाई नदिने निर्णय गरेका कारण वन कार्यालयले अर्को निर्णय गर्न नसक्ने कार्यालयको भनाई छ ।हलखोरिया साझेदारी वन करिब २ हजार ३८ हेक्टरमा फैलिएको छ । २०६० सालमा हस्तान्तरण हुँदाको सो क्षेत्रफल अतिक्रमणमा समेत परेर घटेको छ । सो क्षेत्रको जङ्गल साल प्रजातिका रुखको लागि प्रशिद्ध छ ।
जिल्लाको जीतपुरसिमरासहित दक्षिणतर्फका ६ वटा स्थानीय तहका ५२ वटा वडाका ४० हजार घरधुरी परिवार हलखोरिया साझेदारी वनसँग जोडिएका छन् । जसमा २ लाख ४० हजार उपभोक्ता रहेको अध्यक्ष विकल्प भट्टराईले जनाउनुभयो । सेनाले माग गरेको सो वन क्षेत्रको जग्गामा खाली चौरसंगै पातलो वन, झाडी र बुट्यान रहेको छ ।

















