सिमरा,बाघको गतिविधि नरोकिएपछि डिभिजन वन कार्यालय बाराले जिल्लाको वन क्षेत्रमा थप एक साताका लागि प्रवेशमा रोक लगाएको छ ।डिभिजन वन कार्यालय बाराले मंगलवार एउटा सूचना जारी गर्दै जिल्लाको वन क्षेत्रमा बाघ लगायतका वन्यजन्तुजन्य जोखिम अत्यधिक बढेकाले असोज १ गतेदेखि ७ गतेसम्म पूर्वमा निजगढको बकैया खोला, पश्चिम त्रिभुवन राजपथको सिमरा–अमलेखगञ्ज सडकखण्ड, उत्तरमा बारा र मकवानपुर जिल्लाको सिमानामा पर्ने चुरे क्षेत्र र दक्षिणमा सिमरा–बडहर्वा हुदै कोल्हबी जाने कच्ची सडकको चार किल्लाभित्र पर्ने वन क्षेत्रमा आवत–जावत गर्न रोक लगाइएको जानकारी दिएको हो ।

डिभिजन वन अधिकृत राजिवकुमार झाले जारी गरेको सूचनामा वन ऐन, २०७६ अनुसार लागू गरिएको प्रतिबन्धका क्रममा अबको एक हप्तासम्म दाउरा, घाँसपात, च्याउ, सोत्तर संकलन गर्न पाइने छैन । साथै, वन क्षेत्रमा घरपालुवा जनावर लैजान, पिकनिक मनाउन तथा पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा गाडी रोक्न वा पार्किङ गर्नसमेत निषेध गरिएको छ ।डिभिजनल वन अधिकृत राजीवकुमार झाले अति आवश्यक काम परेमा मात्र कार्यालयको पूर्वस्वीकृति लिएर मात्रै प्रवेश गर्न सकिने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार प्रतिबन्ध उल्लङ्घन गरेर वन क्षेत्रमा प्रवेश गर्नेहरूलाई कानुनी कारबाही हुनेछ, र कुनै दुर्घटना वा क्षति भएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंको हुने सूचनामा उल्लेख गरिएको छ ।
स्थानीयहरूलाई वन क्षेत्र नजिक नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसअघि वन कार्यालयले सर्वसाधारणलाई भाद्र २२ गतेदेखि भाद्र मसान्तसम्म वन प्रवेशमा रोक लगाएको थियो ।
अघिल्लो तीन महिनाको अवधिमा बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज र सिमरा क्षेत्रमा ४ जनाको ज्यान गएपछि वन र निकुञ्ज कार्यालयले सुरक्षा सर्तकर्ता तीव्र पार्दैआएको हो । सो क्षेत्रको जंगलमा घाँस दाउरा खोज्न र च्याउ पिप्न जाने सर्वसाधारण बाघको आक्रमणमा परेका हुन ।
डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले बारका विभिन्न स्थानको वनमा देखापरेको बाघ नियन्त्रणमा लिन संयुक्त रूपमा प्रयास गर्दैआएको प्रयास सफल हुन सकेको छैन । वन र निकुञ्जको कार्यालयले वनको विभिन्न स्थानमा क्यामरा ट्र्यापिङ्गसहित चितवनबाट विशेष डार्टिङ टोली र हात्तीसहितको सुरक्षाकर्मी परिचालन गरेर बाघ नियन्त्रणमा लिन गर्दैआएको प्रयास अहिलेसम्म सफल हुन नसकेको डिभिजनल वन अधिकृत राजीवकुमार झाले जानकारी दिनुभयो ।
यसैबीच निजगढ नगरपालिका वडा नम्बर १२ को आवादी क्षेत्रमा मंगलवार दिउसो बाघ देखापरेपछि स्थानीयबासिन्दा थप त्रसित बनेका छन । वडा अध्यक्ष ज्ञानबहादुर गोलेका अनुसार कोलगाउँको चिहान डाडा क्षेत्रमा दिउसो २ बजेको समयमा बाघ देखिएको हो । गाउँलेले होहल्ला गरेपछि बाघ बस्तिबाट दक्षिण तर्फको जंगलभित्र पसेको वडा अध्यक्ष गोलेले बताउनुभयो ।


















