वीरगन्ज,नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलो पटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा सुरु गरेको कोलकतास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

हिन्द टर्मिनलको रेल ८८ ओटा कन्टेनर लिएर वीरगन्ज सुक्खा बन्दरगाहमा बुधबार विहान आइपुगेको हो । ईन्टर मोडल यातायातका समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र रेल्वे सेवा कम्पनी हिन्द टर्मिनलका रिजनल मेनेजर अभिनव गुप्ता सहितको टोलीले रेलमार्गमा कन्टेनर सहितको रेललाई हरियो झण्डा र नेपालको झण्डा देखाएर स्वागत गरेका थिए ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयमा महिनामा २ पटक सामान लिएर रेल आउने लक्ष्य रहेको हिन्द टर्मिनलका मेनेजर गुप्ताले बताउनुभयो । निजी क्षेत्रबाट पहिलो पटक रेल्वे सेवा सुरु भएपछि भारतीय सरकारी रेल सेवाको एकाधिकार तोडिएको छ । नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा निजी सेवा प्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टले बताउनुभयो ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएको थियो । संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो । एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए ।

भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्कर सहित अन्य चार ओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् । रेल्वे सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । यसबाट नेपालको ढुवानी प्रतिस्पर्धी हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताउनुभयो । ढुवानीलाई थप प्रतिस्पर्धी बनाउन नेपालको निजी क्षेत्रलाई समेत ढुवानीमा सहभागी गराइनुपर्ने सुझाव संयोजक टेमानीको छ ।

अहिले वीरगन्ज सुक्खा बन्दरगाहले सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगन्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here