नेपालमा गणतन्त्र स्थापनाको डेढ दशक पूरा हुन नपाउँदै यसविरुद्ध आवाज उठ्न थालेको छ । गणतन्त्रको विरुद्धमा अहिले जसरी बजारभरि नारा लाग्न थालेको छ त्यसलाई यस्ता जबाफले मात्र शान्त पार्न भने सक्तैन । आम नागरिकले गणतन्त्रका कारण आफ्नो अधिकार र अवसरमा वृद्धि भएको अनुभूत गर्न नपाएका कारण प्रतिगामी पक्षले यो अवसर पाएको हो भन्न सत्यलाई बेवास्ता गर्नसकिन्न ।सडकमा राजा आऊ देश बचाउका नारा मात्र लागेका छैनन् नेताविरुद्ध चर्का नारासमेत लाग्न थालेका छन् । आज युवा शक्ति पुनः प्रतिगमनकारी शक्तिको नजिक हुने अवस्थामा पुगेका छन् ।
मुलुकमा अहिले व्याप्त भ्रष्टाचारलाई आधार बनाएर पुनः राजतन्त्र ल्याउने खेलमा लागेका ती शक्तिलाई समयमा राज्यले राजनीतिक नेतृत्वमा परिस्कार ल्याएर व्यवस्थापन गर्न सकेन भने फेरि मुलुकमा अर्को आन्दोलनको वीजारोपण नहोला भन्न सकिदैन । पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सञ्चार क्षेत्रले भोगेको पीडालाई पनि अहिले भुल्नुहुदैन । अहिलेको व्यवस्थामा जसले नराम्रो गर्छ उसलाई खवरदारी गर्न पाइन्छ ।
सञ्चार क्षेत्रले राज्य सञ्चालकले गर्दै आएका राम्रा तथा नराम्रा कामको आलोचना तथा समर्थन गर्दै आएका छन् । सत्तारुढ तथा प्रतिपक्षी दलमा देखिएको आन्तरिक किचलोको फाइदा उठाउँदै उनीहरु अहिले सक्रिय हुन खोजेको देखिन्छ । अहिले बारा र पर्साका सडकमा समेत राजाको पक्षमा नारा लागेको छ । यो गणतन्त्रमाथिको धावा हो । अब यो बिषयमा सबै गम्भीर हुन आवश्यक छ ।