निजगढ,‍अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिनको अवसर पारेर शनिबार निजगढमा पनि ‘नेपाली टोपी दिवस’ मनाइएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुको संघठन ‘२०५५ ब्याचले निजगढस्थित शहीद चोकमा भेला भएर दिवस मनाएको हो । सो अवसरमा विद्यालयका पूर्वविद्यार्थीहरु सुदीप कोइराला, युवराज न्यौपाने र जुगल लामिछानेले सर्वसाधारणलाई नेपाली ढाका लगाइदिएका थिए । नेपाली मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्न टोपी दिवस मनाइएको पूर्वविद्यार्थी कोइरालाले बताउनुभयो ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर देशभरि नै यो दिवस मनाइएको छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् ।

विद्यालयको ०५५ ब्याचले यसअघि पनि निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ऊनको २ सय थान न्यानो टोपी पनि वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here