कलैया,जिल्ला प्रशासन कार्यालय बाराले आइतवारदेखि कार्यालयको नियमित सेवा सुचारु गर्ने भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनीवार एक सूचना जारी गरी जनजीवन सामान्य गएको भन्दै आइतवारबाट सर्वसाधारणको लागि नियमित सेवा सुचारु गर्ने जानकारी दिनुभएको हो ।कार्यालयबाट जारी गरिएको सूचनामा गत भदौ २३ र २४ गतेका दिन देशभरका विभिन्न स्थानहरुमा भएको आन्दोलनका कारण असामान्य परिस्थिति सिर्जना भई जिल्ला प्रशासन कार्यालय बाराले सेवा स्थगन गरेकोमा हाल जनजीवन सामान्य भएकोले भदौ २९ गतेबाट नियमित रुपमा सेवा संचालन गर्ने जनाइएको हो ।
कार्यालयले भदौ २९ गते आइतवार बिहान ६ बजे पश्चात जिल्लाभर निषेधाज्ञा तथा निषेधित क्षेत्रहरू हटाइएको समेत सो सूचनामा जनाइएको छ ।यसअघि जिल्ला प्रशासन कार्यालय बाराले शनीवारको लागि लागू हुने गरी निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनीवार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कफ्र्यू आदेश जारी गर्नुभएको थियो ।स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कफ्र्यू रहनेछ ।निषेधाज्ञा र कफ्र्यूको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक, सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ । कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
निजगढमा विद्यालय सञ्चालन हुने
निजगढ,जेनजी आन्दोलन र प्रर्दशनका कारण उत्पन्न विषम परिस्थितिका कारण निजगढका विद्यालयहरुमा रोकिएको पठनपाठन कार्य आइतवारबाट सुचारु हुने भएको छ ।निजगढ नगरपालिकाको कार्यालयले शनीवार एउटा सूचना निकालेर विद्यालयमा रोकिएको पठनपाठन आइतवारबाट सुचारु गर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।
सूचनामा अगाडि भनिएको छ– ‘मिति २०८२।०५।२४ गतेको आन्दोलनबाट निजगढ नगरपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरुमा भएको भौतिक क्षति एवम् आगजनी तथा मुलुकमा देखिएको विषम परिस्थितिका कारणले नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थाहरुमा स्थगित गरिएकोमा पठनपाठन कार्य मिति २०८२ भाद्र २९ गतेबाट सञ्चालन गर्नु÷गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।’
यसअघि जेनजी आन्दोलनको क्रममा काठमाण्डौंमा २ दर्जनभन्दा बढी युवा-विद्यार्थीहरुको ज्यान गएपछि निजगढ नगरपालिका कार्यालयले भाद्र २४–२५ गतेको लागि विद्यालयमा शोक बिदा दिएको जनाएको थियो ।


















