निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुयिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई गोला प्रथाद्वारा काठ दाउरा बिक्री गर्ने भएको छ ।

समूहका अध्यक्ष रामप्रसाद पाण्डेले आइतवार सूचना निकालेरउपभोक्ताहरुलाई असोज २९ गते बुधवार गोला प्रथाको आधारमा काठ दाउरा बिक्री गरिने जनाउनुभएको हो । छानेर काठ बिक्री गर्ने आधार विश्वसनीय नभएकोले गोला हालेर वितरण गर्न लागिएको उहाँको भनाई छ ।

वन समूह आर्थिक वर्ष २०८१-८२ मा कटान गरि घाटगद्दी स्थानमा मौजात रहेको गोलिया काठ र दाउरा बिक्री गर्न लागेको हो ।

‘गोलामा जसलाई जुन नम्बर पर्छ, उपयोक्ताले सोही नै काठ दाउरा नै खरिद गर्नुपर्छ, अध्यक्ष पाण्डेले भन्नुभयो, यसरी बिक्री गर्दा उपभोक्ताहरुले गुनासो गर्ने ठाउँ रहदैन ।’

सूचनामा गत वर्ष नै घरधुरी नवीकरण गरेका उपभोक्ताहरु मात्रै गोला प्रथामा सहभागी हुन पाउने तर काठ गोलिया दाउराको माग फारम नभर्ने, घरधुरी नवीकरण नगर्ने र वन समूहको जंगलमा महिनावारि पालो गस्ती नगर्ने उपभोक्ताहरुले भने प्रतिक्युफिट थप ५० रुपैयाका दरले जरिवान तिरेर काठ दाउरा लिनसक्ने पनि  सूचनामा जनाइएको छ । समूहले आगामी वर्षको लागि अहिले नै माग फारम नै भर्न पनि उपभोक्ताहरुमा अनुरोध गरेको छ ।

समूहले अघिल्लो वर्ष पनि यही प्रथा अपनाएर आफ्ना उपभोक्ताहरुलाई काठ दाउरा बिक्री गरेको थियो ।

Leave a Reply