पुष्पराज खतिवडा
बारा,राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं स्थापना दिवसको अवसरमा बाराको बडहर्वाको साना किसान कृषि सहकारी संस्थासहित मधेस प्रदेशका उत्कृष्ट २ वटा सहकारी संस्थालाई सम्मान गरिएको छ ।महोत्तरीको बर्दिवासमा शनिवार भएको ‘सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक प्रदेश स्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिकुमार सिंहले उत्कृष्ट सहकारी संस्थालाई सम्मानसहित पुरस्कृत गर्नुभएको हो ।
सम्मानित हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा र सर्लाही जिल्लाको हरिवनस्थित सगुन साकोस रहेका छन ।साना किसान मनहर्वाले बचत तथा ऋण बाहेकको र सगुनले बचत तथा ऋण कारोबार विधामा उत्कृष्ट कार्य गरेबापत पुरस्कार पाएको सहकारी बैंक कलैया शाखा प्रमुख श्याम न्यौपानेले बताउनुभयो ।त्यस्तै राष्ट्रिय सहकारी बैंङ्कले मधेस प्रदेशमा रहेका आफ्ना ९ वटा शाखा स्तरमा उत्कृष्ट र नियमित गरी दुई विधामा ९-९ वटा गरी १८ वटा संस्थालाई पनि सम्मानसहित पुरस्कृत गरेको छ ।
यस्तै प्रादेशिक रुपमा उत्कृष्ट मनहर्वा र सगुन सहकारीकातर्फबाट समेत संस्थागत परिचय र कार्यक्रमबारे कार्यक्रममा प्रस्तुति गरिएको थियो ।
कार्यक्रमको मधेस प्रदेशका मुख्यमन्त्री सिंहले उद्धाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सिंहले समुदायको विकासमा क्रियाशील सहकारी अभियान सफा हुनुपर्ने बताउनुभयो । गरिब र विपन्न समुदायसमेतले विश्वास गरी सहकारीमा राखेको धनको रक्षा र सही उपयोग गर्ने दायित्व सहकारी संचालकहरुको भएको भन्दै सुरक्षित कारोवार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा मधेस प्रदेशमा सहकारीको अवस्था र भावी कार्यदिशा मधेश प्रदेश सहकारी रजिष्टार राममणी अधिकारीले र सहकारी बैंकका प्रदेश प्रमुख विष्णुप्रसाद पराजुलीले बैंकको परिचयसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बैंकका केन्द्रिय समिति सदस्य भरत साहको स्वागत, प्रदेश प्रमुख पराजुलीको संचालन र सहकारी बैंकका संचालक एवं प्रदेश संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक शारदा दाहाल, नथुनी यादव सहकारी अगुवाहरु विमला साह, रामनगिना राउत, पंचलाल महतोलगायतको सहभागीता थियो ।
सम्मानित हुने संस्थाको विवरण :
१. श्रमजीवी बहुउद्देश्यीय, कलैया– १८
२. दिपशीखा महिला साकोस, कलैया– ९
३.हातेमालो साकोस, जीतपुरसिमरा– २
४. जनकल्याण मध्यवर्ती साकोस, जीतपुरसिमरा– २
५. श्री नीधि साकोस, वीरगञ्ज– ७
६. नारायणी साकोस वीरगञ्ज– ८
७. चन्द्रोदय साकोस, चन्द्रपुर– ४
८. सफल साकोस, चन्द्रपुर– ४
९.चमेली साकोस, ईश्वरपुर– ६
१०. जय श्रीराम साकोस, लालबन्दी– १
११.विषहारामाई साकोस, औरही– ७
१२.सुलभ साकोस मिथिला– १०
१३. राष्ट्रिय साकोस, जनकपुरधाम– ८
१४.सारा साकोस, जनकपुरधाम– ९
१५.राजश्री साकोस, मिर्चैया
१६.बुद्ध महिला साकोस, धनगढीमाई– १०
१७. जनमुखी बहुउद्देश्य, राजविराज– ४
१८.सहयोगी साकोस, कञ्चनरुप– ८


















