नेपालमा अर्थतन्त्रले कोरोना कहरको चर्को मार खेपिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ। कठिन परिस्थितिमा आएको नेतृत्वलाई धराशयी भएको अर्थतन्त्र सुधारका लागि सरकारको मुख्य साझेदार बन्ने अवसर र चुनौती दुवै छ। अर्थतन्त्र उकास्न सरकारलाई नीतिगत तथा व्यावहारिक सुझाव दिएर कार्यान्वयनमा हातेमालो गर्नुपर्ने जिम्मेवारी नयाँ नेतृत्वसामु आएको छ। थोरै लगानीका खुद्रा पसलेदेखि ठूला लगानीका उद्योगी व्यवसायीको लगानी सुरक्षा गर्नुपर्ने चुनौती पनि महासंघ नेतृत्वलाई छँदैछ।
निजी क्षेत्रको प्रत्यक्ष संलग्नताविना करिब–करिब गति लिन नसक्ने अवस्थामा पुगेको आर्थिक गतिविधिलाई नयाँ जीवन दिएर पुरानै लयमा फर्काउन महासंघ पदाधिकारीले सरकारलाई रचनात्मक सहयोग गर्नु आवश्यक छ।महासंघ अध्यक्षमा औद्योगिक घरानाबाट उदाएका र उद्योग व्यवसायमा खारिएका शेखर गोल्छा आएका छन्। वेटिङ प्रेसिडेन्टसमेत मानिने वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल बिजयी बनेका छन्। यी दुई व्यक्तित्वको छविले साना किराना पसलेदेखि ठूला लगानीकर्ताको समेत प्रतिनिधित्व गर्छ।
विश्व अर्थतन्त्रबारे प्रशस्त ज्ञान बटुलेका उनीहरूले नेपालको मौलिक आवश्यकताअनुरूप सरकारलाई दिने सुझावले पनि विशेष महत्व राख्छ। अहिलेको आवश्यकता लगानी, उत्पादन र रोजगारी वृद्धि हो। यो कामका लागि निजी, सरकारी र सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक छ। यो अभियानमा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। निजी क्षेत्र सहयात्री बन्नुपर्छ। निजी क्षेत्रको पनि बलियो साथ अनिवार्य हुनुपर्छ।