रौतहट, भदौ २५ गते । गौरस्थित रौतहट कारागारबाट मङ्गलवार राति २६० जना कैदी फरार भएका छन्। फरारमध्ये दुई महिला र २५८ पुरुष रहेको कारागार प्रमुख मनिष झाले जानकारी दिनुभयो। कारागारमा जम्मा २९१ जना कैदीबन्दी रहेका मध्ये ३१ जना मात्रै कारागारमै बसेका छन्। फरार कैदीमध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन सफल भएको भए पनि बाँकी कैदी अझै बेपत्ता छन्।

मुख्य प्रवेशद्वारमा नेपाली सेना तैनाथ भए पनि पछाडिको भागबाट कैदीबन्दी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हाल कारागारमा जम्मा ६२ जना मात्र कैदी रहेका छन्, जसमा ६ जना महिला कैदीसमेत छन्। फरार कैदीबन्दीहरूको व्यापक खोजी कार्य भइरहेको रौतहट कारागार प्रमुख झाले जानकारी दिनुभयो।

















