कृपा संवाददाता
काठमान्डौं । राजधानी र पोखरामा सुरक्षाकर्मीले सञ्चालन गरेको विशेष अपरेशनमार्फत समाजमा आतंक फैलाउने प्रयास गर्ने समूह नियन्त्रणमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायको संयुक्त प्रयासमा गएरातिदेखि सञ्चालन गरिएको अपरेशनबाट २७ जना पक्राउ परेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यी व्यक्तिहरूले अराजक गतिविधि र लुटपाटमार्फत जनधनमा क्षति पुर्याउने प्रयास गरेका थिए । तर सुरक्षाकर्मीको सक्रियताले ठूलो घटना हुन नपाई तत्काल नियन्त्रणमा लिन सफल भएको हो ।
अपरेशनमार्फत काठमाडौं उपत्यकाको गौशाला, चाबहिल र बौद्ध क्षेत्रबाट लुटिएको करिब ३३ लाख ७० हजार नगद फिर्ता गरिएको छ । यस्तै, काठमाडौं र पोखराबाट विभिन्न किसिमका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको निर्देशनालयले जनाएको छ ।
आगजनीका घटनामा समेत सेनाले तीनवटा वारुण यन्त्र परिचालन गरी नियन्त्रणमा लिएको छ ।उता, घटनामा संलग्न हुँदा २३ जना प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको अहिले सैनिक अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मीले समन्वित र छिटो कदम चाल्दा जनताबीचको भय कम भएको र शान्ति–सुरक्षामा दृढता आएको देखिन्छ ।


















