वीरगञ्ज,राष्ट्रिय आविष्कार केन्द्र वीरगञ्ज कृषि औजार कारखानाले नेपालमै पहिलो पटक फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर मेशिन आविष्कार गरेको छ ।फिस इन्क्युवेटरले माछाको अण्डाबाट भुरा उत्पादन गर्ने र अक्सिजन एरिएसन मिक्सिङ टावरले पानी र हावालाई आपसमा मिलाउने काम गर्छ ।

केन्द्रको वीरगञ्ज प्रमुख इन्जिनियर रितेश देवले यी मेशिन नेपालमै पहिलो पटक आविष्कार गरिएको दाबी गर्नुभएको छ ।
नेपालमा अहिलेसम्म यी मेशिन आविष्कार भएको थिएन, यहाँ खरिद गर्न पनि पाइँदैन, उहाँले भन्नुभएको छ ।
माछा पालक किसानले सोझै भारत वा चीनबाट आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै यी मेशिन उत्पादन हुन थालेपछि माछा पालक किसानले लाभ लिनसक्ने उहाँको भनाई छ ।केन्द्रले आविष्कार गरेका २ वटै मेशिन लुथरन वल्र्ड रिलिफ नेपाल संस्थाले करिब २ साता अघि आफ्नो मत्स्य परियोजना कार्यक्रम अन्तर्गत बारा धोदर्पाका एक किसानलाई हस्तान्तरण गरिसकेको इन्जिनियर देवले बताउनुभयो ।हाल फिस इन्क्युवेटर मेशिनको बजार मूल्य १ लाख १० हजार र अक्सिजन एरिएसन मिक्सिङ टावरको मूल्य ४० हजार रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो ।लुथरनले आफ्नो परियोजना अन्तर्गत सिमरामा कार्यालय स्थापना गरी नेपालमा माछा पालक किसानलाई नयाँ प्रविधिसँग परिचित गराउने र ती प्रविधिलाई स्थापित गराउने प्रयास गर्दैैआएको छ ।


















