कलैया, ८ भदौँ– बारामा सोमबार एकैदिन ९५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएकाहरुमा कलैया उपमहानगरपालिकाका ७३ जना र नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालय अमलेखगन्जमा कार्यरत नौ कर्मचारी छन् ।
निगमको प्रशासन र सरसफाइ गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल आयल निगम वीरगंज र अमलेखगन्जका गरी संक्रमण देखिएका कर्मचारीमा सातजना स्थानीय ट्यांकर चालक रहेका छन् ।
निगमले शनिबार कर्मचारी र केही ट्यांकर चालकको स्वाब संकलन गरी वीरगंजस्थित नारायणी अस्पताल पठाइएको थियो । कलैयामा भने एक वडा अध्यक्षसहितका सर्वसाधारण रहेका छन । संक्रमितहरू केहीलाई होम आइसोलेसन र केहीलाई गंगापुरमा रहेको कोरोना अस्पतालमा राखिने बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
गंगापुरमा रहेको आइसोलेसनमा सय बेड रहेको छ भने हाल ३४ जना उपचाररत रहेका छन् । एकैदिन ठूलो संख्यामा संक्रमित भएकाले केहीलाई होम आइसोलेसन र केहीलाई अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुयो ।