पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न ५ वटा वडामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा आएका ५ सय ८७ जनाको आँखा परीक्षण गर्दा एकसय जनामा मोतियाबिन्दुको समस्या फेला परेको नेपाल आँखा अस्पतालबाट खटिएका चिकित्सकले बताएका छन् ।मोतियाबिन्दुसँगै धेरै मानिसको आँखामा रिफ्याक्टीब ईरर (चस्मा लगानु पर्ने अवस्था) तथा आँखामा मासु पालाउने एलर्जी देखिएको वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर राम केसीले बताउनुभयो ।

पालिकाको आर्थिक र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंको प्राविधि सहयोग एवंम वडा कार्यालयहरुको समन्वयमा शिविर आयोजना गरिएको हो । सोही क्रममा शनिवार पालिकाको वडा नम्बर १८ को बडहर्वामा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको थियो ।सो शिविरमा १०५ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण भएका मध्ये १७ जनामा मोतियाबिन्दु फेला परेको छ । यस्तै ४२ जनामा रिफ्याक्टीब ईरर (चस्मा लगानु पर्ने अवस्था) देखिएको र १२ जनाको आँखामा मासु पालाउने एलर्जी देखिएको वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर केसीले जानकारी दिनुभयो ।

यस्तै यसअघि वडा नम्बर १६ को महेन्द्रनगर, वडा नम्बर १ को पथलैया, २ नम्बर वडाको सिमरा र ८ नम्बर वडाको लोसण्डा रमौलीमा शिविर सम्पन्न भएको थियो ।ती वडाहरुमा क्रमश १५६, ८२, १४३ र १०१ जनाको आँखा परीक्षण भएको केसीले बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगरमा ३० जनमा मोतियाबिन्दु, ५६ जनामा चस्मा लगाउनु पर्ने र १६ जनामा एलर्जी देखिएको छ ।यस्तै वडा नम्बर १ मा भएको परीक्षण शिविरमा १६ जनामा मोतिया विन्दु, ४९ मा चस्मा लगाउनु पर्ने र १० जना एलर्जी देखिएको थियो । यसैगरी वडा नम्बर २ मा १२ जनाको आँखामा मोतियाविन्दु, ३२ जनामा चस्मा लगाउनु पर्ने र ७ जनामा एलर्जी देखिएको हो । वडा नम्बर ८ मा १ सय ४३ जनाको परीक्षण गर्दा २५ जनामा मोलिया विन्दु, ७६ जनामा चस्मा लगाउनु पर्ने अवस्था र १७ जनामा एलर्जी पाइएको उहाँले बताउनुभयो ।

यस्तै आगामी १० गते वडा नम्बर ३ को बजनीस्थित स्वास्थ्य संस्थामा निःशुल्क आँखा परीक्षण शिविर गरिने जनाइएको छ ।
वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर केसी र नेत्र प्राविधिक शिवकुमार चौधरी लगायतको टोली शिविरमा खटेको छ ।यसरी निःशुल्क आँखा परीक्षणका क्रममा भेटिएका मोतियाबिन्दुका बिरामहरुको यही १२, १३ र १४ गते सिमरामा निःशुल्क शल्यक्रिया गरिने भएको बताइएकोछ भने बाँकी बिरामीहरुले नेपाल आँखा असपतालमा छुट सुविधामा आँखा उपचार गर्न पाउने प्राविधिक चौधरीले बताउनुभयो ।नेपालको सबैभन्दा जेठो आँखा अस्पतालको रुपमा रहेको नेपाल आँखा अस्पतालले देशभर शाखा खोलेर सेवा दिँदै आएको छ ।अन्य अस्पतालहरुको तुलनामा प्रभावकारी एवं सुलभ सेवा उपलब्ध गराएका कारण सेवाग्राहीको पहिलो रोजाईमा यो आँखा अस्पताल पर्ने गरेकोे वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर केसीले दाबी गर्नुभएको छ ।

 

Leave a Reply