वीरगञ्ज,सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी कलैयाकी टिकटकर किरण साहमाथि थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।साहविरुद्ध साइबर तथा विद्युतीय अपराध, सङ्घीय सांसदलाई धम्की र झुटा अफवाह फैलाएको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, बाराको कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुर स्थायी घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी साहलाई शनिवार नियन्त्रणमा लिइएको थियो ।मन्त्री यादव र मेयर सिंहले साहले ज्यान मार्ने धम्की मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी लम्सालले जानकारी दिनुभयो ।

शनिवार मुर्लीस्थित घरबाट पक्राउ परेकी साहमाथि अनुसन्धान गर्न यसअघि पर्सा प्रहरीले जिल्ला अदालत पर्साबाट मङ्गलवारसम्मका लागि हिरासतमा राख्ने अनुमति लिएको थियो । यद्यपि, अनुसन्धान पुरा नभएको भन्दै पर्सा प्रहरीको आग्रहमा जिल्ला अदालत पर्साले साहलाई मंगलवार नै थप तिन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
साहले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको भन्दै मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुराकानी गरेकी थिइन् । फोनमा गरिएको कुराकानीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले टिकटक र फेसबुकमार्फत मन्त्री यादव र मेयर सिंहलाई धम्की दिँदै बोरिङको पानीका कारण हैजा फैलिएको र धेरैको मृत्यु भएको दाबी गरेकी छन् । तर, स्वास्थ्य मन्त्रालय, पर्सा स्वास्थ्य कार्यालय, वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले हैजाका कारण कसैको मृत्यु नभएको पुष्टि गरेका छन् ।

साहले आफ्ना चार परिवारका सदस्य हैजाका कारण आइसियुमा भर्ना भएको दाबी गरेकी थिइन् । तर, मेयर सिंहले गरेको अस्पतालको तथ्याङ्क जाँचमा उनको परिवारका कोही पनि झाडापखाला वा हैजाका कारण अस्पताल भर्ना नभएको पुष्टि भएको छ ।पर्सा प्रहरीले साहको धम्की मन्त्री र मेयरलाई बदनाम गर्ने उद्देश्यले प्रेरित भएको वा कुनै समूह वा व्यक्तिबाट परिचालित भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ । साहले प्रहरीसमक्ष आवेशमा धम्की दिएको स्वीकार गरेकी छन् ।

कारबाहीको माग गर्दै प्रदर्शन
वीरगञ्ज,जनता समाजवादी पार्टी (जसपा) निकट महिला नेतृहरूले साहमाथि कडा कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिँदै उनीहरूले “खानेपानीमा राजनीति गर्न पाइँदैन” र “मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर” जस्ता नारा लगाएका थिए ।जसपा नेतृ मधुमाया यादवले धम्की दिनु गलत भएको बताउँदै असन्तुष्टि सभ्य तरिकाले व्यक्त गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै, पूर्व प्रदेशसभा सदस्य भीमा यादवले मन्त्री यादवले खानेपानी सङ्कट समाधानका लागि गरेको बोरिङ जडानको प्रशंसा गर्दै हैजाको आरोप लगाउनु अनुचित भएको बताउनुभयो ।यता, पूर्व मन्त्री करिमा बेगमको नेतृत्वमा अर्को समूहले साहमाथि अन्याय भएको भन्दै उनको रिहाइको माग गर्दै सोमवार प्रदर्शन गरेको थियो । साहकी आमा साबित्री साहले मन्त्रीले पदको दुरुपयोग गरेको आरोप लगाउँदै छोरीको तत्काल रिहाइ नभए थप प्रदर्शन गर्ने चेतावनी दिनुभएको छ ।

Leave a Reply