सिमरा,नेपाल तेक्वान्दो संघ मधेस प्रदेश तेक्वान्दो कार्यसमिति निजगढको आयोजनामा भएको मधेश प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता मंगलवार सम्पन्न भएको छ ।

१४ औं दक्षिण एशियाली खेलकुदमा सहभागी गराउन दुईदिने छनौट प्रतियोगिता आयोजना गरिएको हो । पथलैयास्थित सशस्त्र प्रहरी बलको कभर्ड हलमा भएको प्रतियोगिताबाट २५ खेलाडी छनौट भएका छन् । प्रतियोगितामा ११ स्वर्ण, एक रजत र एक कास्य जित्दै पर्सा जिल्ला प्रथम भएको छ ।

यसैगरी तीन स्वर्ण, एक रजत र एक कास्य जितेको रौतहटले दोस्रो स्थान हासिल गरेको छ । यसैगरी तीन स्वर्ण, तीन रजत र दुई कास्य जितेको बाराले तेस्रो स्थान हात पारेको छ । प्रदेशबाट छानिएका खेलाडीले राष्ट्रिय छनौट खेल्ने छन् । बारा, रौतहट र सर्लाहीका तीन–तीन खेलाडी छानिएका छन् ।

यसैगरी महोत्तरी र सप्तरीबाट दुई–दुई खेलाडी छनौट भएका छन् । सिरहाबाट एक जना खेलाडी छनौट भएको प्रतियोगिताका निर्णायक बिजय शाह ठकुरीले बताउनुभयो ।

प्रतियोगितामा सर्लाहीले तीन स्वर्ण, एक रजत र एक कास्य जितेको छ । यसैगरी सप्तरीले दुई स्वर्ण र ६ कास्य हात पार्दा सिरहाले एक स्वर्ण, पाँच रजत र ६ कास्य प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागीता जनाएको धनुषा भने पदकविहिन बन्न पुग्यो । प्रतियोगितामा पर्साकी पुष्पा रखाल मगर बेस्ट फिमेल फाईटर र रौतहटका बर्षात मोक्तान बेस्ट मेल फाईटर घोषित भएका छन् ।

प्रथम, द्धितीय र तृतीय भएका टिमसहित पदक बिजेता खेलाडीलाई सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालय पथलैयाका प्रमुख, बरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक लक्ष्मणबहादुर सिंह, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, बब्लु सिवाकोटी लगायतले पुरस्कार वितरण गरेका थिए । मधेस प्रदेश संघका उपाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भुवन थापाले गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक टार्जन सुब्बा, अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नेपाल तेक्वान्दो संघ, मधेस प्रदेश कमिटीका सदस्य मुक्ती यादव, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, सशस्त्र प्रहरी निरीक्षक लोकबहादुर थापा, सशस्त्र प्रहरी निरीक्षक सुभाष भट्टराई, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, नेपाल तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेश श्रेष्ठ, नेपाल तेक्वान्दो संघ सर्लाहीका अध्यक्ष बद्री सापकोटा, नेपाल तेक्वान्दो संघ रौतहटका अध्यक्ष बिरबहादुर रानामगर, नेपाल तेक्वान्दो संघ धनुषाका अध्यक्ष तिलक लामा, नेपाल तेक्वान्दो संघ सिरहाका अध्यक्ष ध्रुव लामा, तेक्वान्दो प्रशिक्षक जिवनराज भण्डारी, तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, तेक्वान्दो खेलाडी प्रेमकुमार दर्लान, सञ्जिव नेपालीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघले सहयोगी संस्थासहित जुरी र निर्णायकलाई पनि सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Leave a Reply