पुष्पराज खतिवडा
मनहर्वा,किसानले उत्पादन गरेको दुध बिक्रीमा समस्या हुन थालेको छ । बजार खस्किएपछि किसानले उत्पादन गरेको दुध बिक्रीमा समस्या उत्पन्न भएको हो ।बारा जिल्लाको ग्रामीण क्षेत्रबाट दुध खरिद गरेर शहरी क्षेत्रमा बिक्री गर्दै आएका डेरी उद्योगहरुले बजारमा दुधको परिकार बिक्रीमा कमी आएको भन्दै दुध खरिद र संकलनमा कमी गर्न थालेपछि किसानले उत्पादन गरेको दुध बिक्री घटेको भएको हो ।‘चलेको मुल्यमा घटाएर लैजानुस् भन्दा पनि डेरीहरु दुध खरिद गर्न मान्दैनन, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीस्थित सामुदायिक दुध संकलन केन्द्रका प्रमुख शिव वाग्लेले भन्नुभयो, अब केन्द्रले पनि दुध खरिद घटाउनुपर्ने अवस्था छ ।’ उहाँले उत्पादन वृद्धि भएको तर बजार खस्किएपछि डेरी उद्योगहरुले दुध खरिद गर्न रुची नदेखाएका हुन ।किसानहरुको भरपर्दो र बलियो आम्दानीको श्रोतको रुपमा रहेको दुध बिक्री कमी हुन थालेपछि दुध उत्पादक संस्था संचालकहरु तनावमा देखिएका छन् । यस्ता संस्थाहरुले किसानले उत्पादन गरको खुद्रा दुध खरिद गरेर डेरी उद्योगहरुलाई बिक्री गर्दैआएका छन ।यस्तै दैनिक एक हजार लिटर दुध संकलन गर्ने साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको दुध संकलन केन्द्रबाट पनि दुध बिक्रीमा कमी आएको छ । बजारमा माग कम भएपछि संस्थाले थप नयाँ किसानसंग दुध खरिद गर्न बन्द गरेको जनाएको छ ।‘डेरी उद्योगसँग दुध खरिदको लागि पटक पटक अनुरोध गर्दा किन्न नसकिने भनेर फर्काउने गरेका छन, संकलन केन्द्रका प्रमुख मनोज पटेलले भन्नुभयो, अहिले बजार छैन, खरिद गर्न सकिदैन मात्रै भन्छन ।’ बजारको अभाव भएपछि आफूहरुले पनि मिल्क होलिडे गर्नुपर्नेे अवस्था आएको उहाँले बताउनुभयो ।कलैया डेरीका संचालक सियाराम सिंहका अनुसार नेपालमा भन्दा भारतमा दुधको मुल्य कम छ । खुल्ला सीमानाका कारण लुकीचारी भारतीय दुध नेपाल भित्रिएका कारण नेपाली दुधले बजार पाउन नसकेको हो । ‘अर्को कुरा राजनीतिक स्वार्थमा गरिने सरकारी निर्णयले पनि समस्या भएको छ, उहाँले भन्नुभयो, दुध उत्पादक संघका नेताहरुले उत्पादन र वितरणलाई ख्याल नै नगरी दुधको मुल्य बढाउन दवाव दिने र सरकारले पनि अध्ययन नगरी ह्वात्तै मुल्य बढाएकाले अहिले असर बजारमा परेको छ ।’त्यसैगरी उपभोक्ताले दुध कम खान थालेकाले पनि बजार प्रभावित बनेको सिंहको भनाई छ । ‘देशमा आर्थिक मन्दी छ, यसको असरले पनि दुधको बजार खस्केको हो ।’ कलैया डेरी संचालक सिंहले बताउनुभयो ।यस्तै दैनिक ११ हजार लिटरसम्मको दुध र दुधजन्य परिकार बिक्री गर्दै आएको डुमरवाना डेरीको कारोबार पनि निक्कै खुम्चिएको छ । सो संस्थाले हाल ४ हजार ४५ सय लिटर दुधको मात्रै कारोबार गरेको जनाएको छ । ‘पहिलो कुरा दुध उपभोक्ता नै घटेका छन् । जस्का कारण बजारमा बिक्री हुने दुध, दही, पनिर, ध्यु लगायतका परिकारको खपतमा कमी आएको डुमरवाना डेरीका अध्यक्ष टिकाराम न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार दुधको मुल्य बढेसँगै उपभोक्ता घटेका छन् । सरकारले हालै दुधको मुल्यमा प्रतिलिटर ९ रुपैंया ९० पैसा वृद्धि गरेको थियो । त्यसको असर स्वभाविक रुपमा उपभोक्तामा पर्न गएको छ ।भारतमा उत्पादित दुध तथा पाउडर दुध अवैध रुपमा आउने गरेकाले पनि नेपाली दुधको बजारमा असर पारेको अध्यक्ष न्यौपानको भनाई छ । सरकारले चोरी तस्करीमा कडाई नगर्ने हो भने समस्या झन जटिल बन्ने उहाँले बताउनुभयो ।