सिमरा,बारामा काठ तस्करीमा संलग्न एक जनालाई वन सुरक्षाकर्मीको टोलीले सोमवार बिहान नियन्त्रणमा लिएको छ ।
मधुवन सब–डिभिजन वन कार्यालयबाट वन अधिकृत सञ्जयकुमार चौधरीको कमान्डमा खटेको विशेष अपरेसन टोलीले ठूलो परिमाणको तस्करीको काठसहित तस्कर समूहमा रहेकामध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनीलाई सोमवार बिहान रामनगरको बथान टोल नजिकबाट बिहान २ः ४५ बजे पक्राउ गरेको हो ।
मधुवन सब–डिभिजन कार्यालयले तस्करी नियन्त्रण गर्न सो क्षेत्रमा अघिल्लो रातिदेखि नै संयुक्त गस्ति टोली परिचालन गरेको थियो ।डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झाका अनुसार गस्ती टोलीले ५ थान साल जातको ४६.०६ क्युफिट काठ, तस्करहरुले प्रयोग गरेको ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरेको हो ।
करिब १० जनाको समूहमा रहेका काठ तस्करमध्ये अन्य फरार बनेको र सहनी पक्राउ परेको कार्यालयले जनाएको छ।
पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको र काठ तस्करीमा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने डिभिजनल वन अधिकृत झाले जानकारी दिनुभएको छ ।


















