काठमाडौँ –  भोटेकोसीमा आएको बाढीले तीन जिल्लामा १६ विद्यालयमा क्षति पुगेको छ भने २३८ विद्यार्थी र १३ शिक्षक सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार, शनिबारसम्म प्राप्त प्रारम्भीक विवरणमा तीन जिल्लाका १६ विद्यालयमा क्षति पुगेको छ । ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी २५१ जना सम्पर्कविहीन भएको तथ्यांक आएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले लिएको प्रारम्भीक विवरणअनुसार, रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ । रसुवाको उत्तरगया र गोसाईकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, धादिङको गल्छी गाउँपालिका र निलकण्ठ नगरपालिकाका विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । यी स्थानीय तहका अधिकांश विद्यालय बगाएको छ । केहीका कक्षाकोठामा लेदो, बालुवा र माटोले पुरिएको मन्त्रालयले जनाएको छ ।
रसुवाका चार विद्यालय पूर्ण रुपमा नै क्षति भएका छन् । यस्तै नुवाकोटको चार विद्यालयमा पूर्ण र चारमा आशिंक क्षति पुगेको छ ।

 

आशिंक क्षति पुगेको विदुर नगरपालिकास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका १२ विद्यार्थीसहित एक शिक्षक सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । धादिङको एक विद्यालय पूर्ण क्षति भएको छ भने तीनमा आशिंक क्षति पुगेको मन्त्रालयले जनाएको छ । उत्तरगया गाउँपालिकाको निलकण्ठ माध्यामिक विद्यालय भवनमा क्षति नभए पनि सो विद्यालयका दुई सय विद्यार्थीसहित चार शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख गरिएको छ ।

 

गोसाइकुण्ठ गाउँपालिकाको कोमीश्यामेवाङ्फेल माध्यामिक विद्यालयको १६ जना विद्यार्थीसहित एक शिक्षक बाढीमा बेपत्ता भएका छन् । गुसाईकुण्ड तीर्थयात्रामा गएका चार जना धादिङका शिक्षक पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालय रसुवाका १० जना शिक्षकमध्ये तीन जना मात्रै सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशुली माविको छात्रबास पुरिएको क्षति विवरणमा उल्लेख छ । क्षति पुगेकामध्ये अधिकांश सामुदायिक र केही निजी विद्यालय रहेका छन् । त्यस्तै नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले तीन जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् । मन्त्रालयले क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ ।

Leave a Reply