रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका– २ जुडीबेलामा शनिबार गाईगोठमा अचानक आगलागी हुँदा चार वटा गाईसहित सात वटा चौपाया जलेर मरेका छन् । आगलागीबाट करिब नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जुडीबेला निवासी सन्तोषी बस्नेतको आचार्य एकीकृत कृषि फार्मको गाईगोठमा बिहान करिब ५ बजे आगलागी भएको हो ।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट जुडीबेलाका प्रहरी सहायक निरीक्षक बरुणकुमार रायको कमाण्डमा खटिएको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार आगलागीबाट चार वटा गाई, दुई वटा बाछा र एक वटा भैँसी गरी सात वटा चौपाया जलेर मरेका छन् । दुई वटा गाई र एक वटा खसीलाई भने जलेको अवस्थामा उद्धार गरिएको छ । घटनामा मानवीय क्षति भएको छैन ।
आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर दिनेश थापाको कमाण्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















