नेपालमा शासकहरुबाट विभेद भयो भनेर समानताको लागि ठूला आन्दोलन भए । सामान्तवादका विरुद्धमा गरिएको भनिएको आन्दोलनमा परेर कयौंको ज्यान गयो तर पनि यो देशमा अझै सामान्तवादको अवषेशभन्दा पनि नव सामान्तवादहरु हावी भएको कुरा सरकारले देखाएको पछिल्लो एउटा व्यवहारले स्पष्ट पारको छ ।
वास्तवमा दुर्घटना भनेको जहाँ जतिबेला, जहिले पनि हुने कुरा हो । भवितव्यको त जिम्मेवारी लिनसक्ने कुरा भएन तर सरकार नै यस्ता भवितव्यमा परेकाहरुको सन्दर्भमासमेत विभेदका उत्रन्छ भने त्यो एकदमै आपत्तिजनक र पीडाको पनि विषय हो ।हुन त एकदिन शोकको कुरा गर्दैमा पीडितलाई त्यस्तो धेरै राहत हुने कुार पनि होइन । तैपनि सरकारले एकदिनका लागि शोक मनाउने निर्णय गरेपनि पीडितका लागि राहत पक्कै हुन्छ । सहानुुभूति पक्कै हुन्छ । तर वर्तमान सरकारले त्यसो गरेन ।

असार २८ गते त्रिशुलीमा बगेका दुईवटा बस र त्यसमा रहेका दर्जनौं यात्रुहरुको अहिलेसम्म अत्तोपत्तो छैन । बसमा रहेका ६५ यात्रु बेपत्ता भए । खोजीमा सरकारले देखाएको पारा पनि ऐना झैं छलंग छ । फेरि बुधवार पनि काठमाडौंमा अर्को दुःखद घटना भयो । सौर्यको जहाज दुर्घटनामा पर्यो र १८ जनाले जीवन गुमाउन परेको छ ।यो पनि उत्तिकै दर्दनाक घटना हो, यसमा बहस गर्नुपर्ने आवश्यकता नै छैन । तर विमानमा सवार १८ जनाको निधनमा सरकारले हतार हतार मन्त्री परिषदको बैठक नै बोलाएर भोलिपल्ट शोक मनाउने निर्णय गर्यो भने त्रिशुलीमा बगेको बस र यात्रुको सवालमा सरकार आजसम्म पनि मौन छ । यो भनेको सरकारको विभेदकारी नीति नै हो । यसबाट सरकारले आफ्ना नागरिकहरुमाथि विभेद गरेको स्पष्ट हुन्छ । यसरी सरकार वा राज्यबाट नै विभेद हुनु राम्रो कुरा भने होइन ।

Leave a Reply