पुष्पराज खतिवडा
बारा,मधेस प्रदेशको शैक्षिक गुणस्तर निकै कमजोर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपाल सरकार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको लागि हालै लिएको परीक्षाको नतिजामा मधेस प्रदेश शैक्षिक गुणस्तरको दृष्टिलेकमजोर देखिएको हो ।

अध्यापन अनुमति पत्र परीक्षाको हालै सार्वजनिक परीक्षाफलमा मधेस प्रदेश कोशी, वाग्मती,गण्डकी र लुम्बनी प्रदेशको तुलनामा निकै कमजोर रहेको देखिएको छ । यसले मधेसको शैक्षिक गुणस्तरको अवस्थालाई उजागर गरेको छ ।
केही वर्ष अघिसम्म कर्णाली र सुदूरपश्चिमभन्दा कमजोर रहेको मधेसमा यस पटक भने अंकका हिसावले झिनोसुधार देखिएको छ । यद्यपि सुगम भएरपनि सुदुरपश्चिम र कर्णालीकै हाराहारीको नतिजाले सन्तोष गर्ने अवस्था छैन ।
अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी परीक्षार्थी र उर्तिण हुनेहरुको तुलनात्मक नतिजाको अनुपात हेर्दा शैक्षिक गुणस्तरको अवस्था प्रष्ट देखिएको हो । शिक्षक सेवा आयोगलाई श्रोत बनाएर निकालिएको नतिजाले मधेस, कर्णाली र सुदुरपश्चिमलाई गुणस्तरमा निकै कमजोर देखाइएको छ ।

सबैभन्दा राम्रो मानिएको वागमती प्रदेशको नतिजालाई समेत सर्वोत्कष्ठ भन्ने आधार रहेको छैन । वागमतीमा १४ हजार ३ जना परीक्षार्थी अध्यापन अनुमती पत्रको परीक्षामा सहभागी हुँदा १२.०२ प्रतिशत अर्थात १ हजार ६८३ जना मात्रै उतीर्ण भएका छन ।यस्तै मधेस प्रदेशमा १९ हजार ३० जना सहभागी भएको परीक्षामा ७.४७ प्रतिशत अर्थात १ हजार ४२१ जना मात्र उतीर्ण भएका छन् ।यसैगरी गण्डकीको नतिजामा ८ हजार २२९ परीक्षार्थीमा ९२७ जना उर्तीण भएका छन् । यो प्रतिशत ११.२७हो ।सुदुरपश्चिमको उर्तीण प्रतिशत सबैभन्दा कमजोर ६.६७ छ । जसमा १६ हजार ४८५ परीक्षार्थी सहभागी हुँदा १ हजार ९९ जना मात्रै उतिर्ण भएका छन ।

यस्तैगरी कोशी प्रदेशमा १८ हजार ६६२ जनाले परीक्षा दिएकोमा २ हजार ८२ जना ११.१६ प्रतिशत मात्रै उतीर्ण भएका छन् भने लुम्बिनी प्रदेशमा १०.१५ प्रतिशत उतीर्ण भएका छन । लुम्बिनीमा सबैभन्दा बढी २२ हजार ७९२ जना परीक्षार्थी परीक्षमा सहभागी थिए । जसमध्ये २ हजार ३१३ जना उतीर्ण भएको तथ्याङ्कमा उल्लेख छ ।समग्रमा देशभरिका १ लाख १९ हजार ६९९ जना परीक्षार्थी मध्ये १० हजार ९७४ अर्थात ९.१७ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन ।नेपाल सरकार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्तिको लागि गत मंसिर १५ गते परीक्षा लिएको परीक्षाको नतिजा गत मंसिर२६ गते सार्वजनिक गरेको हो ।

Leave a Reply