कलैया,पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले लोकसेवा र शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेका एकै घरका चार जना छोरीलाई बाराको कलैयामा सम्मान गर्नुभएको छ ।मदन भण्डारी फाउन्डेशन बाराले आइतवार कलैयास्थित बरेवा दरबार होटेलमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले सरकारी सेवामा कार्यरत जिल्लाको देवताल गाउँपालिका– ३ निवासी शम्भुप्रसाद यादवकी छोरीहरु पूजा यादव, कविता, पल्लवी र गुञ्जालाई सम्मान गर्नुभएको हो ।
मधेसी चेलीहरुको मेहनत र उपलब्धिको कदर गर्दै उनीहरुको सफलताको लागि सम्मान गरिएको फाउन्डेशनको मधेस प्रदेश अध्यक्ष राजमहमद रायले बताउनुभयो ।
उनीहरुमध्ये पूजा स्थानीय तह अधिकृत (छैटौँ), कविता र पल्लवी यादव संघीय खरिदार तथा गुन्जा यादव प्राथमिक तहको शिक्षक पदमा कार्यरत छन् ।त्यसैगरी निजगढ नगरपालिका– ६ सडकटोलकी सरिता सापकोटालाई महिला तथा बालबालिका क्षेत्रमा पु¥याएको योगदान स्वरुप ‘नारीः शक्ति, समर्पण र सम्मान’ सम्मान प्रदान गरिएको छ ।
साथी नेपालकी अध्यक्ष सापकोटालाई शनीवार वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न बृहत महिला सम्मेलन २०८२ मा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले “नारीः शक्ति, समर्पण र सम्मान” प्रदान गर्नुभएको हो । कार्यक्रममा महिला उद्यमी, जनप्रतिनिधि तथा सामाजिक अभियन्तालगायत २५ जना महिलाहरूलाई सम्मान गरिएको थियो ।


















