निजगढ,भारतीय नागरिकले निजगढबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा निजगढ नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।वडा कार्यालयले बुधवार एक विज्ञप्ति निकालेर झुटा विवरण पेश गरी भारतीय नागरिकले नेपाली नागरिकता बनाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । वडा अध्यक्ष स्वर्ण लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा निजगढ नगरपालिका घोषणा हुनअघि मिनादेवी गुप्ता र स्नेहलता गुप्ताले साविकको निजगढ गाविस ८ नम्बर ठेगानाबाट नागरिकता प्राप्त गरेको देखिएको बताइएको छ । तत्कालिन गाविस कार्यालयको सिफारिसमा उनीहरुले नागरिकता बनाएको र सो कार्यमा वडा नम्बर ८ कार्यालयको कुनै पनि संलग्नता नरहेको सम्पूर्णमा जानकारी गराइन्छ विज्ञप्तिमा उल्लेख छ ।झुटा विवरणको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिने निजगढका ३ जनासहित १० जना भारतीयलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेपछि निजगढमा तीव्र प्रतिक्रिया उत्पन्न भएको हो । निजगढ नगरपालिका वडा नम्बर ८ बाट ३ जना भारतीय नागरिकले नागरिकता लिएको समाचार सार्वजनिक भएपछि सोको लागि सिफारिस गर्नेहरुमाथि पनि कारबाही गरिनुपर्ने भन्दै सामाजिक सन्जाल प्रयोगकर्ताले प्रतिक्रिया जनाएका हुन ।भारतको उत्तर प्रदेशका उनीहरुले बाराको निजगढ, सिराहा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिइएको भेटिएपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बैशाख २५ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमध्ये स्नेहलता गुप्ताले निजगढ– ८ बस्ने रामेश्वरप्रसाद गुप्ताको छोरी बनेर बंशजको आधारमा नागकिरता लिएको र राजेशकुमार गुप्ताले दिनेशप्रसाद गुप्ताको छोरा बनेर जन्मको आधारमा नागरिकता लिएको पाइएको हो । त्यसैगरी मिनादेवी गुप्ताले निजगढ– ८ बस्ने रामानन्द साहको छोरी बनेर बंशजको आधारमा नागरिकता लिइएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभएको छ । उहाँका अुनसार स्नेहलताले ०६९ साल चैत्र ९ गते र राजेश तथा मिनादेबीले ०६९ साल असार ११ गते जिल्ला प्रशासन कार्यालय बाराबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका हुन ।


















