मनोज शाह
जीतपुर,बाराको प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिने जीतपुर बजारमा अवैध सामानको तस्करी बढ्दै गएको छ । यससँगै इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख जोजन कार्कीमाथि तस्करहरूबाट मासिक नजराना रकम लिने गरेको आरोपसमेत सार्वजनिक हुँदै गएको छ ।
भारतबाट अबैध रुपमा कपडा, हार्डवेयर, चामल, सुर्तीजन्य पदार्थजस्ता सामग्रीहरू साइकल र मोटरसाइकलमार्फत तस्करी गरेर जीतपुर बजार भित्र्याउने काम खुलेआम भइरहेको छ । स्थानीय व्यापारीका अनुसार, प्रहरीले एकजना तस्करबाट प्रतिमहिना ५ हजारदेखि ७ हजार रुपैयाँसम्म असुल्ने गर्दैआएको छ । त्यस्तै, प्रत्येक बोरा सामानका लागि रु २० देखि ३० सम्म असुली गरिने गरिएको बताइएको छ ।
स्रोतहरूका अनुसार, प्रहरी प्रमुख कार्कीलाई तस्करहरूले सिधै ‘महिनावारी’ बुझाउने चलन रहेको छ, जसले गर्दा तस्करहरुले निर्धक्कसंग अबैध सामान खुलेआम ओसारपसार गर्ने गरेका छन् । “एक साइकलमा दुईदेखि तीन बोरा समान सजिलै ल्याइन्छ, प्रहरीहरूले रोकटोक गर्दैनन्,” सो क्षेत्रमा काम गर्दैआएाक एक जना तस्करले भने ।
रातको समयमा वीरगञ्जबाट काठमाडौं जाने गाडीहरूमा कम चेकजाँच हुने र प्रहरीहरू उद्योगको गेट अगाडि उभिएको देखिनु, उद्योग प्रशासनसँग तेल वा गाडी बिग्रिएको निहुँमा सहयोग माग्ने जस्ता गतिविधि समेत नियमित जस्तो देखिन्छ ।
स्थानीय होटल व्यवसायीहरू पनि प्रहरी प्रशासनको व्यवहारबाट असन्तुष्ट देखिन्छन् । “हामीलाई राति १०–१२ बजेसम्म होटल सञ्चालन गर्न दिनुपर्ने हो, तर प्रहरीहरूले पसल बन्द गर्न बाध्य पार्छन्,” एक होटल सञ्चालकले गुनासो गरेका छन ।
जीतपुर बजारको चोक–चोकमा सादा पोशाकमा प्रहरी परिचालन भएको देखिए पनि उनीहरूले तस्करी नियन्त्रणमा कुनै सक्रियता नदेखाएको आरोप छ । “हामी तस्करहरूलाई अहिले दशैं–तिहार आएको जस्तो लागेको छ,” एक तस्करले व्यङ्ग्य गरे ।
स्थानीयहरूका अनुसार, यस्तो खुला तस्करी र प्रहरीको मौन समर्थन जीतपुर बजारको इतिहासमै पहिलोपटक देखिएको हो । यस सम्बन्धमा प्रहरी कार्यालयबाट भने कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
















