रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् ।
गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादवमाथि मंगलबार राति करिब ९ः१५ बजे पाँच राउन्ड गोली प्रहार भएको हो ।
स्थानीयका अनुसार गढवा गाउँस्थित पानी ट्यांकी नजिक रहेका यादवमाथि अज्ञात व्यक्तिले एक्कासि गोली चलाएका थिए । घटनालगत्तै घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० वसन्त गौतमका अनुसार यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकले गरेको सिटी स्क्यानबाट उनको पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको प्रहरीले जनाएको छ । शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउ रहेका छन् ।
घाइतेको अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको डीएसपी गौतमले जानकारी दिए ।
घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाउँदै गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
युवकमाथि कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । गौरको बस्तीमै भएको गोलीकाण्डपछि स्थानीय बासिन्दामा त्रास र सुरक्षा चिन्ता बढेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















