सिमरा,हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा मछिन्द्र फूटबल क्लबलाई ४–१ पराजित गर्दै शेर्पाले १३ वर्षपछि फेरि उपाधि उचालेको हो ।शेर्पालाई उपाधि दिलाउने क्रममा कप्तान विश्वास श्रेष्ठले दुई गाले गरे भने रोवर्ट खोङजो र समीरराज थोकरले एक-एक गोल गरे । मछिन्द्रका लागि रञ्जन पुनले एक गोल फर्काए । उपाधिसंगै शेर्पाले १० लाख हात पारेको छ । लगातार दोस्रो पटक उपविजेतामा चित्त बुझाउन बाध्य मछिन्द्रले पाँच लाख पाएको छ ।
शेर्पाले यसअघि २०६७ सालमा दोस्रो संस्करणको उपाधि जितेको थियो । लगातार फाइनलमा प्रवेश गरेको मछिन्द्र गत वर्ष पनि नेपाल पुलिस क्लबसंग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी शेर्पाका रोवर्ट खोङजो घोषित भए । शेर्पाबाट खेलेका भारत मेघालयका खोङजोले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । भिएक्सल एजुकेशनले उक्त स्कुटर प्रायोजन गरेको थियो ।
विधागततर्फ सर्वाधिक गोलकर्ताको उपाधि पनि खोङजोले पाए । उनले तीन गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक शेर्पाका विवश चौधरी, उत्कृष्ट प्रशिक्षक शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । विधागततर्फका उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताको उदयीमान खेलाडी आयोजकका सेरव लो तामाङ घोषित भए । उनले १५ हजार नगद प्राप्त गरे । सिमरा रंगशालाबाटै फूटबल क्षेत्रमा उदाएका पूर्व राष्ट्रिय खेलाडी रवी पासवानले उक्त रकम उपलब्ध गराएका थिए ।
फाइनल खेलको प्लेयर अफ दि म्याच शेर्पाका अमित तामाङ घोषित भएका छन् । तामाङले ग्रिन इनर्जी प्रालिको तर्फबाट १० हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले सिरहाको सलहेश युवा क्लबले प्राप्त गरेको छ ।विजेता तथा उपविजेता खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललगायतले पुरस्कार प्रदान गरेका थिए ।


















