निजगढ,पूर्वपश्चिम राजमार्गको कमला– पथलैया खडकखण्ड विस्तार आयोजनाअन्तर्गत सडक विभागले निजगढको बकैया खोलामा नयाँ पुल निर्माण गर्नेभएको छ ।आयोजनाअन्तर्गत सर्लाहीको बागमतीदेखि पथलैयासम्मको सडक विस्तारको काम शुरु नहुँदै सडक विभागले बकैयामा भने पुल निर्माणको प्रक्रिया अघि बढाएको हो ।
पुल निर्माणको ठेक्का लागिसेकेको र सोको प्राविधिक मूल्याङ्कन सकिएपछि ठेकेदार कम्पनीको टुङ्गो लगाइने सडक विभागका सिनियर डिभिजनल इन्जिनियर मुकुन्द अधिकारीले बताउनुभयो । ‘बकैया पुल निर्माण गर्न १२ वटा कम्पनीले ठेक्का हालेका छन, अधिकारीले भन्नुभयो, कार्यालयले ठेकेदार कम्पनीको प्रस्तावमा मूल्याङ्कन गरिरहेको छ ।’ अध्ययनको काम टुङ्ग्एिसिछ १ महीनाभित्र निर्माण कम्पनी छनौंट हुने उहाँले बताउनुभयो ।
विश्व बैङ्कको ऋण सहयोगमा धनुषाको कमला नदीदेखि बाराको पथलैयासम्म १३० किलोमिटर सडक चार र छ लेनमा विस्तार गर्न लागिएको हो । हाल दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गरिने योजना छ ।
यस खण्डको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गत वर्ष पुस १७ गतेदेखि सडक विस्तारको काम भइरहेको छ । रौतहट र बारा जिल्लाको सडक विस्तारको लागि भने ठेक्का आह्वान हुन बाँकी नै रहेको आयोजना कार्यालयले जनाएको छ ।सडकको दायाँबायाँका रुख व्यवस्थापनका लागि स्वीकृति आएको भनिए पनि रुख कटानको काम पनि अगाडि बढ्न सकेको छैन ।वन तथा भू–संरक्षण विभागले गएको असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन महोत्तरीको गौरीडाँडास्थित कमला–ढल्केबर–पथलैया सडक आयोजनालाई पत्राचार गरेको छ ।


















