जनकपुरधाम, भदौ १२ । मधेशी सहिद प्रतिष्ठानको बैठक आज मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ । बैठकले सहिद परिवार र सन्तानलाई प्रत्यक्ष फाइदा पुर्याउने विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको चालू आ.व. २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत सहिद परिवारको सम्मानका लागि विनियोजित २ करोड रुपैयाँबाट स्वास्थ्य, शिक्षा, सीप विकासलगायतका कार्यक्रम कार्यान्वयन गरिने भएको हो।
बैठकले सहिदहरुको प्रोफाइल निर्माण तथा प्रकाशन, सहिद स्मृति पुरस्कार, स्वास्थ्य बीमा, बलिदानी दिवसको आयोजना, सहिद सन्तानलाई छात्रवृत्ति, सीप विकास तालिम, लोकसेवा तालिम, साथै सहिदहरुको सम्झनामा स्मृति पार्क र गेट निर्माण गर्ने निर्णय गरेको छ।
बैठक गृह, सञ्चार तथा कानुन मन्त्री तथा मधेशी सहिद प्रतिष्ठान निर्देशक समितिका अध्यक्ष माननीय राजकुमार लेखी ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश गृह सचिव बिमल प्रसाद बराल, प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सचिव लाल बाबू कवारीसहित प्रतिष्ठानका सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
















