हेटौंडा –  मकवानपुरबाट निर्वाचित रास्वपा सांसद प्रकाश गौतमले बीच सडकमै गाडी तेस्र्याएर अन्य यात्रुहरुसंग आक्रोश पोख्नुभएको छ । अत्यधिक सवारी चापका कारण छोटो मार्गमा जाम भइरहेका बेला मकवानपुर– १ का सांसद गौतमले सडकमा आफ्नो निजी गाडी तेस्र्याएर यात्रुसँग विवाद गरेको र प्रहरी लगाएर एक यात्रुलाई नियन्त्रणमा लिन लगाउनुभएको हो ।

मंगलबार दिउँसो करिब ३ बजेतिर भीमफेदी बजारमाथि जुरिखेतस्थित सडकमा सवारी जाम भएको थियो । त्रिशूली नदीको बाढीले कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग बन्द हुँदा पश्चिम नेपालतर्फ जाने साना सवारी साधन हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु सडकखण्डबाट चलिरहेका छन् ।

भीमफेदीदेखि कुलेखानीसम्मको करिब १६ किलोमिटर सडक साँघुरो रहेकाले उक्त खण्डमा अत्यधिक सवारी चापका कारण जाम हुने गरेको छ । त्यही जामका बीच मनहरी गाउँपालिका– ७ का सुसन भ्लोन हेटौंडातर्फ आउँदै गर्दा र निजी गाडीबाट काठमाण्डौंतर्फ सपरिवार जादै गर्नुभएका सांसद गौतमबीच विवाद भएको थियो । सवारी जामकै अवस्थामा गाडी अगाडि बढाउने क्रममा आवेगमा आउनुभएका गौतमले आफ्नो गाडी सडकमा तेस्र्याउनुभएको भिडियो सार्वजनिक भएको छ ।

गाडी तेर्सिएपछि सडकको दुवैतर्फका सवारी साधनसमेत सडकमै रोकिएका थिए । गाडीबाट ओर्लिएपछि गौतम मोटरसाइकल तथा चारपाङ्ग्रे सवारीका चालकतर्फ जाइलागेको प्रत्यक्षदर्शी भ्लोनले बताउनुभएको छ । आफ्नो गाडी हटाएर जाममा फसेका यात्रुलाई गन्तव्यतर्फ जान दिने वातावरण बनाउन भ्लोनसहितका यात्रुले आग्रह गरेका थिए ।
त्यस क्रममा भ्लोनसहित अन्य यात्रु र गौतमबीच भनाभन भएको थियो । भनाभनकै क्रममा सांसद गौतमले आफूलाई गालीगलोज गरेको भन्दै प्रहरी प्रशासन लगाएर भ्लोनलाई भैंसे प्रहरी चौकीमा समात्न लगाएको खुलेको छ । परिवारका एक सदस्यको मृत्यु भएपछि मानसिक तनावमा रहेका बेला आफू यात्रा गरिरहेको र प्रहरीले आफूलाई चौकीमा करिब दुई घण्टा राखेको भ्लोनले बताउनुभएको छ ।

Leave a Reply