निजगढ,हुलाकी सडक निर्माणको क्रममा तीन वर्षअघि नै अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाएपछि बाराका मुआब्जा पीडितहरुले काठमाडौंको माइतीघरमा रिले अनशन थालेका छन ।तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नपाएपछि बाराको सिम्रौनगढ र कोल्हबी नगरपालिका तथा आदर्श कोतबाल र बारागढी गाउँपालिकाका २५ पीडितहरुले काठमाडौं पुगेर १८ जेठदेखि आन्दोलन थालेका हुन ।

करिब ६५ देखि ७० बिघा जग्गा दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार मुआब्जा नपाएको सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष अनबर अन्सारीले बताउनुभयो । ‘मुआब्जा दिनुहोस्, होइन भने हाम्रो जग्गा फुकुवा गरिदिनुस् भनेका छौँ,’ अन्सारीले भन्नुभयो, ‘पटकपटक गरेको आग्रह सरकारले नसुनेपछि बाध्य भएर काठमाण्डौं आएका हौँ ।’

तत्कालीन समयमा प्रतिकट्ठा २० लाख रुपैयाँ मुआब्जा दिने गरी मुआब्जा मूल्यांकन निर्धारण समितिले दर कायम गरेको थियो । अर्का पीडित रामबाबु साहले सम्बद्ध निकाय धाउँदाधाउँदै तीन वर्ष बिते पनि मुआब्जा नपाएको गुनासो गर्नुभयो ।
बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले मंगलबार अनशनरतलाई भेटनुभएको थियो । पीडितको पक्षमा पटकपटक आवाज उठाउदै आउनु भएका सांसद मैनालीले सोमबार पनि यो विषय संसदमा पनि आवाज उठाउनुभएको थियो ।संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्यक्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ–बायाँबाट १५–१५ मिटर अधिग्रहण गरेको थियो । ३९.७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ पूर्व–पश्चिम राजमार्गको निजगढ–काठमाडौं ‘फास्ट ट्र्याक’ जोड्ने सडक हो । साविकका १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका र आदर्श कोतबाल गाउँपालिका गरी चारवटा पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइको छ ।यसअघि पीडितहरुले हुलाकी मार्गको प्रवेश द्वार तामागढी गेटमा १५ दिनसम्म रिले अनशन गरेका थिए । स्थानीय प्रशासनले अनशनकारीको मागप्रति चासो नदेखाएपछि पीडितहरुले काठमाण्डौं पुगेर धर्ना थालेका हुन ।

Leave a Reply