गोकुल घोरसाइने
निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ सिंगौल सामाजिक दृष्टिले महत्वपूर्ण परिवर्तनको बाटोमा अघि बढिरहेको छ ।पछिल्लो समय यहाँका युवायुवतीले दलित÷गैरदलित अन्तरजातीय विवाहलाई जीवनको विकल्पका रूपमा लिँदै आएका छन् । परिवार र समाजको सुरुवाती अस्वीकार पछि पनि धैर्य, संघर्ष र समयसँगै यस्ता विवाहलाई स्वीकृति मिल्न थालेको हो ।

सिंगौलका मोहन परियार (२४) र मकवानपुर बकैया गाउँपालिका– ७ अधेरीकी निशा बोम्जन (२२) ले २०७६ सालमा अन्तरजातीय प्रेम विवाह गरेका थिए । सानिआमा सिमा लोप्चनको होटलमा काम गर्ने क्रममा निशा र मोहनबीच चिनजान हुँदै माया बसेको थियो । विवाहपश्चात् सुरुमा निशाको परिवारले अस्वीकार गरे पनि सानिआमा सिमाकै प्रयत्नमा अहिले माइती पक्षले पनि उनीहरुको विवाहलाई सहजै स्वीकार गरिसकेको छ । ट्रक चालक मोहन र निशाको दुई छोरी छन् र दाम्पत्य जीवन सुखद छ ।

त्यस्तै, सिंगौलकै टोपबहादुर विक (२५) र सिराहा गोलबजारकी ममताकुमारी मगर (२३) ले पनि २०७५ सालमा चार वर्ष लामो प्रेम सम्बन्धपछि भागेर विवाह गरेका थिए । ममताको परिवारले ‘दलित केटा’ भनेर शुरुमा अस्वीकार गरेको उनीहरुको विवाह आज उनीहरूको लागि पनि स्वीकार्य छ । यद्यपि, ममताका मामा अझै सन्तुष्ट छैनन् । उनीहरूको एक ३ वर्षे छोरा छ । टोपबहादुर हाल ट्रक चालक छन् ।

दिलीप कुमर (२४) र सुनसरी धरानकी सृजना घलान (२३) को अन्तरजातीय विवाह भने दुवै परिवारको सहमतिमा सम्पन्न भएको छ । उनीहरू हाल काठमाडौंमा बसेर काम गर्दै आएका छन् । सृजनाकी सासु अस्तिम धामीका अनुसार “छोराले रोजेको बुहारी पाएपछि परिवार खुसी नै छ ।”

त्यस्तै, चन्द्रबहादुर वल (२७) र मिना विक (२६) ले पनि पाँच वर्षको प्रेम सम्बन्धमा पनि परिवारको अनुमति नपाएपछि भागेर विवाह गरेका थिए । तर, एक साताभित्रै घर फर्काइएपछि उनीहरूको विवाहलाई दुवै पक्षले स्वीकार गरे । अहिले उनीहरू एक छोरीका अभिभावक बनेका छन् ।

सिंगौलकै सन्जिव विक (२६) र हेटौडाकी निर्मला स्याङ्गतान (२९) को प्रेम भने फेसबुकमार्फत सुरु भएको थियो । परिवारले अस्वीकार गरेपछि उनीहरूले पनि भागेर नै विवाह गरेका हुन । दलित केटासँग बिहे गरेको भन्दै निर्मलाको परिवारले करिब एक वर्षसम्म उनीहरूसँग सम्बन्ध तोडेको थियो । तर भाइ सुविन स्याङ्गतानले आएर मेलमिलाप गरेपछि दाम्पत्य सम्बन्धलाई परिवारले स्वीकार ग¥यो । अहिले दुबै परिवार र नातागोता उनीहरूको वैवाहिक जीवनमा सन्तुष्ट छन् ।

यी उदाहरणहरूले स्पष्ट गर्छन् कि सिंगौल मात्र होइन, निजगढ नगरपालिकाभरि नै अन्तरजातीय विवाह सामाजिक स्वीकार्यता बटुल्दै गएको छ । प्रारम्भिक असहजता र परिवारको अस्वीकार भए पनि प्रेम र दाम्पत्य जीवनलाई सुदृढ बनाएपछि अन्ततः परिवार र समाजले पनि यस्ता विवाहलाई आत्मसात् गर्न थालेका छन् ।निजगढमा यस्तो विवाह गर्ने जोडीलाई सामाजिक रुपमा सम्मान गर्ने प्रचलन पनि शुरु भएको छ । निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विकले आफूले प्राप्त गर्ने नगरपालिका लक्षित कोषको रकमबाट अन्तरजातीय विवाह गर्ने २५ जोडीलाई सार्वजनिक कार्यक्रमबीच सम्मान गरिएको थियो ।

फास्टट्याक मिडिया प्रालिको आयोजनामा २ महिनाअघि सिंगौलमा भएको कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग लगायत जनप्रतिनिधिहरुले उनीहरुलाई प्रशंसापत्र र दोसल्लासहित सम्मान गरेका थिए ।
अन्तरजातीय विवाहपछि दम्पतिले विगतमा जस्तो सामाजिक तिस्कार र असम्मान बेहोर्नु नपरोस भनेर आफूहरुको पहलमा सम्मान कार्यक्रम आयोजना गरिएको निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विकले बताउनुभयो । उहाँले कार्यक्रम अन्तर्गत अन्तरजातीय विवाह गर्ने नगरभित्रका ५० भन्दा बढी जोडीलाई सम्मान गरेको जानकारी पनि दिुनयभो ।

सम्मान कार्यक्रमले अन्तरजातीय विवाह गर्नेहरुमात्रै होइन, उनीहरुका अभिभावक र सर्वसाधारण गाउँले पनि प्रशंसा गरेका छन । यस्तो कार्यक्रमबाट समाजलाई जातीय भेदभावबाट मुक्त पार्न र समानतामूलक समाज निर्माणमा मद्दत पुग्ने स्थानीय छिरिङ्ग वलले बताउनुभयो ।त्यसैगरी निजगढस्थित गौरीशंकर क्याम्पसका प्राध्यापक सागर दहाल अनुसार, निजगढलगायत मधेसका ग्रामीण क्षेत्रमा अन्तरजातीय विवाह अझै पनि चुनौतीपूर्ण विषय हो । तर पछिल्ला वर्षहरूमा युवा पुस्ताले जातीय विभाजनभन्दा बढी प्रेम र व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिन थालेका छन् ।

“पहिले त यस्तो विवाहलाई परिवारले अस्वीकार गरेर युवायुवतीलाई सामाजिक बहिष्कारसम्म गर्ने अवस्था थियो,” प्राध्यापक दाहाल भन्नुहुन्छ, “तर अब समयसँगै परिवार र समाज दुवै पक्षले आफ्नो सोच परिवर्तन गर्दै गएका छन् ।”
उहाँका अनुसार, शिक्षा, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र शहरप्रतिको रोजगारीको आकर्षणले युवायुवतीलाई जातीय सिमानाको बन्धन तोड्न प्रेरित गरेको छ ।निजगढ सिंगौलका अन्तरजातीय विवाह गर्ने जोडीहरुको उदाहरणहरूले प्रेम र विश्वासले समाजलाई बदल्ने शक्ति राख्छ भन्ने देखाएको छ । सुरुमा अस्वीकार भए पनि अन्ततः परिवार र समाजले ‘खुसी दाम्पत्य जीवन’लाई जातभन्दा ठूलो मूल्यका रूपमा लिन थालेको छ ।निजगढका अन्तरजातीय जोडीहरूको कथा अन्य युवायुवतीका लागि पनि प्रेरणादायी बन्नसक्छ ।

Leave a Reply