निजगढ – भोटेकोशी बाढीपछि अप्रत्याशित रुपमा बाढी प्रभावित क्षेत्रमा देखापरेको ‘ग्रीन आर्मी नेपाल’ को बारेमा विभिन्न आशंका व्यक्त भइरहेकै बेला पूर्वमन्त्री एंव एमाले नेता पुरुषोत्तम पौडेलले त्यसको गतिविधि र गठन प्रक्रियाबारेमा प्रश्न गर्नुभएको छ ।

नेता पौडेलले सामाजिक सञ्जाल आज फेसबुकमा स्टाटस लेख्दै ग्रीन आर्मी नेपाल कस्तो संगठन हो र कसले सञ्चालन गरेको हो भन्ने जिज्ञासा व्यक्त गर्नुभएको हो । उहाँले थप लेख्नुभएको छ, यसको संचालन विधि के हो ? सेनापती, परमाधिपति को हो ? र यो कुन कानुनअन्तर्गत गठन गरिएको हो प्रष्ट पारिनुपर्दछ ।’

पौडेलले देशमा नेपाल आर्मीमात्रै भएको र त्यसले विद्यालयमा एनसिसी नामको स्वयंसेवी संगठनमात्रै गठन गर्ने गरेको आफूलाई जानकारी भएको पनि बताउनुभएको छ । एनसिसी स्वयंसेवाको लागि तालिममात्रै लिएका किशोर÷किशोरीहरु हुन र त्यसलाई आर्मी नभनिने पनि उल्लेख गर्नुभएको छ ।

उहाँले अनेक रंगका आर्मी गठन गर्ने र परिचालन गर्ने हक संविधानले कसैलाई पनि नदिएको उल्लेख गर्दै नेपालको कानुनले नेपाली सेनाबाहेक अर्को सेना गठन गर्ने कुनै व्यवस्था नगरेको पनि बताउनुभएको छ ।नेपाली सेनाले नै उनीहरुलाई तालिम दिएको भन्ने सूचनाको बारेमा पनि उहाँले प्रश्न गर्नुुभएको छ । ‘सेनाले के आधारमा तालिम दियो ? देशमा कति वटा सेना छन ? आर्मी गठन गर्ने हक क–कसले पाएका छन ? तिनको भर्ना कहिले र कसरी भएको हो ? गुपचुप आर्मी भर्ना गर्ने हक उनीहरूलाई कसले दिएको हो ?’ यस्ता प्रश्नहरूको प्रष्ट जवाफ ग्रीन आर्मी नेपालका चालकहरूले दिनुपर्ने उहाँको भनाइ छ ।

नेता पौडेलले यदि व्यक्तिगत आर्मी भए त्यसको लागि कसले, कहाँबाट र कहिले अनुमति लिएको थियोे भन्ने प्रश्न उब्जिएको बताउदै यसको सही जवाफ प्राप्त भएन भने देशमा अराजक स्थितिको बिजारोपण हुनसक्ने पनि उहाँको चिन्ता छ ।
यो संस्था २०७२ सालको विनाशकारी भूकम्पका बेला स्थापना भएको र ०७७ साल भदौं ११ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता समेत भएको भनिएको यो संस्थाका सदस्यहरुले प्रयोग गर्ने पोशाक झलक्क हेर्दा नेपाली सेनाकै जस्तो देखिने भएकाले पनि अहिले यो संस्था थप विवादमा तानिएको हो ।

Leave a Reply