कृष्ण मोहन साह

सेढवा, ५ भदौँँ– पर्सामा निर्माण भइरहेको हुलाकी सडकको निर्माण कार्यमा कमसल र गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भइरहेको पाइएको छ । पर्साको वीरगंजस्थित प्रतिमा चोकदेखि जिराभवानी गाँउपालिकाको चमरी टोलसम्म ३० किलोमिटरको निर्माण ठेक्का लिएको पप्पु कन्ट्रक्सनले सडक निर्माणको क्रममा कमसल सामाग्री प्रयोग गरेको हो ।

जिराभवानी गाँउपालिका वडा नम्बर– १ भवानिपुर र जिराभवानी गाउँपालिका वडा नम्बर–२ बसन्तर गाँउमा सडक छेउको नाला निर्माण कार्यमा ठेकेदारले दुई नम्बर इट्टाको प्रयोग गरिरहेको फेला परेको छ ।

सम्झौतामा नाला निर्मणमा एक नम्बर इट्टा प्रयोग गर्नुपर्ने उल्लेख भएपनि ठेकेदारले नाला निर्माणमा दुइ नम्बर इट्टाको प्रयोग गरिरहेको फेला परेको हो । त्यसैगरी इस्टमेटअनुसार काम नभएको र हुलाकी सडक निर्माण गर्नुपर्दा छेउबाट माटो निकाल्न नपाइने भएपनि ठेकेदार कम्पनीले मनोमानी तरिकाले सडक छेउको दायाँबायाँबाट माटो उठाएको भारतीय कन्सलटेन्ट इन्जिनियर बिपिन देहराले बताउनुभयो ।

नाला निर्माणको बुधबार स्थलगत निरीक्षणका क्रममा दुई नम्बर इट्टा प्रयोग गरिएको र सडक छेउबाट माटो कटान गरी हुलाकी रोडमा खसालेको अवस्थामा फेला परेको भन्दै इन्जिनियर देहराले कमसल र गुणस्तरहिन सामाग्री प्रयोग गरी निर्माण भएको नाला भत्काएर पुन निर्माण गर्न ठेकेदारलाई निर्देशन दिने र नमानेको खण्डमा भुक्तानी रोकिने बताउनुभयो ।

पर्सामा निर्माण भैरहेको ६० किलोमिटर लामो हुलाकी सडक निर्माणको जिम्मा दुई वटा कम्पनीले ठेक्का लिएकोमा प्रतिमा चौकदेखि जिराभवानीको चमरी टोलसम्मको काम सुस्त गतिमा भइरहेकोले हुदा अहिलेसम्म ३२ दशमलब ५ प्रतिशत काममात्र पुरा भएको बताइएको छ ।

त्यसैगरी जिराभवानीको चमरीटोलदेखि ठोरीको चौतारासम्मको ठेक्का लिएका कालिका बानिया जेभी कन्ट्रक्सन ६० दशमलब ५ प्रतिशत काम सम्पन्न गरेको सडक अनुगमनको जिम्मा लिएका भारतीय कन्सलटेन्सी कम्पनीका बिपिन देहराले जानकारी दिनुभयो । कालिकाले तीव्र गतिमा निर्माण कार्य गर्दै आएको पनि बताइएको छ ।

Leave a Reply