कलैया,बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जिल्लास्थित नेपाल–भारत सीमा नाकामा सिसिटिभी र चेकपोष्टमार्फत कडा निगरानी गरिने बताउनुभएको छ ।सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको आयोजनामा सोमवार कलैया उपमहानगरपालिका– १० मा भएको सीमा सहजीकरण बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । “सीमा नाकामा हुने अवैध क्रियाकलाप रोक्न सिसिटिभी जडान, चेकपोष्ट स्थापना र भन्सारको निगरानीलाई प्रभावकारी बनाइने छ ।’ उहाँले स्थानीयको सुझावलाई ध्यानमा राखेर थप योजना तयार पारी कार्यान्वयनमा ल्याएर पनि बताउनुभयो ।
प्रजिअ अधिकारीले सीमा सुरक्षालाई संवेदनशील विषय ठहर गर्दै सबै निकायले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताउनुभयो ।यसैबीच बैठकले सडक मर्मत, सरसफाइ, पार्किङ व्यवस्थापन, वृक्षारोपण तथा संदेशमूलक सूचना राख्ने जस्ता निर्णय पनि गरेको छ ।कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले सीमा क्षेत्रको सुरक्षा र सो क्षेत्रमा हुने अबैध क्रियाकलाप रोक्न नगरपालिकाले सक्रिय भूमिका खेल्ने बताउनुभएको थियो ।
“सडक, सरसफाइ, पार्किङ र हरियाली अभियान जस्ता कामलाई नगरपालिकाले प्राथमिकतामा राख्छ, उहाँले भन्नुभयो, सशस्त्र प्रहरीसँगको सहकार्यमा पक्की ब्यारियर र सूचना पाटी निर्माणमा पनि उपमहानगरपालिकाले सहयोग गर्नेछ ।’
यसैगरी सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका गणपति प्रहरी उपरीक्षक खुमबहादुर केसीले पनि अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान र पक्की ब्यारियर निर्माण हुने बताउनुभएको थियो ।
बैठकले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि चेकजाँचलाई व्यवस्थित गर्न सशस्त्र प्रहरीले स्थायी पोस्ट स्थापना गर्ने, सवारीसाधन नियमन गर्ने, भन्सारको नियमित अनुगमन र छड्के निरीक्षण कडाइका साथ गर्ने निर्णय पनि गरेकोछ ।
वडा अध्यक्ष साबिर मियाको अध्यक्षतामा बसेको बैठकमा सीमा सुरक्षासम्बन्धी चुनौती, नाकाको व्यवस्थापन र समग्र पूर्वाधार विकासबारे सरोकारवालासँग राय–सुझाव संकलन गरिएको थियो ।
सीमा सहजीकरण बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला,सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक सुधिर खतिवडा लगायतको उपस्थिति रहेको थियो।


















