मनोज शाह
जीतपुर,बारा जिल्लाको विश्रामपुर गाउँपालिका– २ बरैनियामा विद्यालय अभावका कारण वर्षौंदेखि स्थानीय बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित हुने अवस्था थियो । गाउँमा विद्यालय नहुँदा बालबालिकाहरुलाई दैनिक २–३ किलोमिटर टाढासम्म पुगेर पढनुपर्ने बाध्यता थियो भने आर्थिक रूपमा कमजोर परिवारका धेरै बालबालिकाले विद्यालय शिक्षा नै प्राप्त गर्न सकेका थिएनन् ।

यही समस्यालाई समाधान गर्ने उद्देश्यका साथ वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार यादवले आफ्नो निर्वाचन प्रतिबद्धता अनुसार श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सञ्चालनमा ल्याउनुभएको छ । विद्यालयमा नेपालीसँगै अंग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु भएपछि स्थानीय अभिभावक र विद्यार्थीहरूमा उत्साह थपिएको छ ।
वडा अध्यक्ष यादवले विद्यालयको गुणस्तरलाई प्राथमिकतामा राख्दै अभिभावकहरूलाई आफ्ना बालबालिका गाउँकै विद्यालयमा भर्ना गर्न आग्रह गर्नुभएको छ । विद्यालयमा कुनै समस्या वा कमजोरी देखिएमा आफूलाई प्रत्यक्ष जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ । उहाँका अनुसार विद्यालयका शिक्षकहरूले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको शिक्षण गरिरहेका छन् ।
स्थानीयवासी रमेशप्रसाद शाहका अनुसार विगतमा धेरै जनप्रतिनिधि आए पनि विद्यालय स्थापना गर्ने काम कसैले गर्न सकेका थिएनन् । वडाध्यक्ष यादवले भने आफ्नो प्रतिबद्धता पूरा गर्दै गाउँमै विद्यालय सञ्चालन गराएका कारण बालबालिकाको भविष्यप्रति नयाँ आशा जागेको उहाँले बताउनुभयो ।
त्यस्तै स्थानीय अर्जुनकुमार प्रजापतिले विद्यालय स्थापना हुनु गाउँका बालबालिकाका लागि ठूलो उपलब्धि भएको प्रतिक्रिया दिनुभएको छ । विद्यालय सञ्चालन भएपछि स्थानीयले वडा अध्यक्ष यादवप्रति आभार व्यक्त गरेका छन ।
विद्यालयमा हाल करिब ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूलाई निःशुल्क विद्यालय पोशाक, पाठ्यपुस्तक, जुत्ता, झोला तथा खाजाको व्यवस्था समेत गरिएको छ । यसले विशेष गरी विपन्न परिवारका बालबालिकालाई विद्यालयमा टिकाइ राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।
विद्यालय प्रशासनका अनुसार विद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनमा वडा अध्यक्ष यादवको महत्वपूर्ण योगदान रहेको छ । करिब एक हजार घरधुरी र पाँच हजारभन्दा बढी जनसंख्या रहेको बरैनिया क्षेत्रमा विद्यालय सञ्चालन भएपछि शिक्षाको पहुँच विस्तार भएको छ भने स्थानीयहरूमा बालबालिकाको भविष्यप्रति नयाँ विश्वास र आशा पलाएको छ ।शिक्षा विकासको आधार मानिने समाजमा बरैनियाको यो पहल ग्रामीण क्षेत्रमा स्थानीय नेतृत्वको सक्रियताले कसरी सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरणका रूपमा स्थापित हुँदै गएको छ ।



















