बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका– १ स्थित धनसार खोलामा ढुङ्गा, गिट्टी, बालुवाको अबैध उत्खनन तीव्र गतिमा भइरहेको छ ।वर्षायामका महिना असार, साउन र भदौमा नदी दोहन पूर्ण प्रतिबन्ध हुने भएपनि, स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै ट्याक्टर माफिया सक्रिय बनेका छन् ।

स्थानीयवासीका अनुसार बिहान सबेरै झिसमिसेमै ट्याक्टरहरू खोलामा पस्छन् र उज्यालो नहुँदै सिंगौल हुँदै बालुवा, गिट्टी तथा ढुंगा निकासी हुने गरेको छ । “विकासको नाममा उत्खनन भइरहेको देखाइए पनि वास्तविक उद्देश्य अबैध बिक्री नै हो,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताएका छन ।

डिभिजन वन कार्यालय बारा, सब डिभिजन वन कार्यालय निजगढ र स्थानीय प्रहरीबीचको समन्वय कमजोर भएको आरोप पनि लगाइएको छ । वर्षायाममा हुने अवैध उत्खननले बाढी, कटान र आसपासका बस्ती जोखिममा पर्ने खतरा बढ्ने विज्ञहरूको चेतावनी छ ।

स्थानीय प्रशासनले हरेक वर्ष प्रतिबन्धात्मक निर्देशन जारी गर्ने गरेको भएपनि यस वर्ष त्यसको प्रभावकारी पालना भएको देखिँदैन । धनसार खोला नियन्त्रण नगर्ने हो भने कृषियोग्य जमिन, बस्ती र सडक पूर्वाधारमा दीर्घकालीन क्षति पुग्ने विशेषज्ञहरूको भनाई छ ।यसैबीच, स्थानीयवासीले तत्कालै उत्खनन रोक्न सम्बन्धित निकाय सक्रिय हुनुपर्ने भन्दै दबाब दिन आवश्यक रहेको बताएका छन् ।

Leave a Reply