कलैया,
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर मधेस प्रदेशका ८ जिल्लामध्ये बारा जिल्लामा सबैभन्दा बढीको ज्यान गएको छ ।
गत वर्षको २०८१ को साउनदेखि असार मसान्तसम्म बारामा १ हजार १४७ सवारी दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका हुन । सोही अवधिमा मधेश प्रदेशको आठ वटा जिल्लामा भएका ७ हजार ४ सय ४३ वटा दुर्घटनामा ५ सय ६४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले दिएको अनुसार पर्सामा ५५६ दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् भने, रौतहटमा ८०८ वटा दुर्घटना हुँदा ६६ जना, सलार्हीमा १ हजार ३७ दुर्घटनामा ५६ जना, महोत्तरीमा ६७९ दुर्घटनामा ४५ जनाको ज्यान गएको छ ।

त्यसैगरी धनुषामा १ हजार २२१ दुर्घटनामा ८४ जना, सिराहामा ९६७ दुर्घटनामा ८९ जना र सप्तरीमा ८२८ दुर्घटनामा ८४ जनाले ज्यान गुमाएका हुन् । यस क्रममा जम्मा १० हजार ६७२ वटा सवारी साधन एक अर्कोमा ठोक्किएका सिंहले बताउनुभयो ।

यस दुःखद घटनाको तिव्रता देखेर, यातायात नियमको पालना र सतर्कता बढाउनुपर्ने आवश्यकता अत्यन्तै महत्वपूर्ण रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवम् प्रहरी उपरीक्षक रामकुमार सिलवालले भन्नुभयो ।

मधेस प्रदेशमा सवारी दुर्घटनामा कमी ल्याउन र जनजीवनको सुरक्षामा थप ध्यान दिन यस मातहतका प्रहरीले ट्राफिक जनचेतना सम्बन्धि विविध गतिविधि गर्दै चालकहरुलाई सवारी चलाउदा अति ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिने गरेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।
प्रदेशमा सबैभन्दा बढीले ज्यान गुमाएको बारा जिल्लामा चालु–आर्थिक वर्ष ०८२ को साउन २२ गतेसम्म पनि एक महिला र दुई जना पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।

बाराका विभिन्न सडकहरुमा भएका ६९ वटा दुर्घटनामा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनु्भयो ।

यसरी मधेश प्रदेशमा करिब साढे ५ सय बढी व्यक्तिले सवारी दुर्घटनाबाट ज्यान गुमाउनु गम्भीर चिन्ता विषय भएको र यसको नियन्त्रण र न्युनीकरणको लागि प्रहरीले प्रभावकारी योजना बनाउनुपर्ने नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जिकिर गर्नुभएको छ ।

यस्तो घटनालाई न्युनीकरण गर्नु र ट्राफिक सम्बन्धी समाजिक जनचेतना जगाउन गाउँटोल लगायतका ठाउँमा समेत प्रचारप्रसारमा जोड दिन आवश्यकता रहेको उहाँले भन्नुभयो ।

यसैगरी आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि २०८२ असार मसान्तसम्म मधेस प्रदेशका आठ जिल्लामा २० हजार ८ सय ३९ वटा विभिन्न सवारी साधनलाई कारबाही गरिएको छ । त्यसबाट १८ करोड ३७ लाख ९१ हजार ३५९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

सो अवधिमा पर्सामा ३० हजार ३२० वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ८१ लख ४९ हजार ३५० रुपियाँ, बारामा २३ हजार ४२४ सवारीबाट २ करोड २४ लाख २ हजार, पथलैयामा ११ हजार २५० सवारीबाट १ करोड ५ लाख १० हजार ५०२ रुपियाँ, रौतहटमा १६ हजार २४८ सवारीबाट १ करोड ४७ लाख ३८ हजार, सलार्हीमा २० हजार ९ सवारीबाट १ करोड ९७ लाख ७३ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी महोत्तरीमा २८ हजार ३३२ सवारीबाट २ करोड ५८ लाख ५४ हजार ५०४ रुपियाँ, धनुषामा २८ हजार ५३५ सवारीबाट २ करोड २१ लाख १० हजार ५ सय रुपियाँ, सिराहामा ३२ हजार १५७ सवारीबाट २ करोड ५१ लख १९ हजार ५०२ रुपियाँ र सप्तरीमा १७ हजार ७६४ सवारीबाट १ करोड २७ लाख ९३ हजार ५०१ रुपियाँ सङ्कलन भएको सूचना अधिकारी सिंहले बताउनुभयो ।

Leave a Reply