निजगढ,
निजगढस्थित बकैया खोलाको बगर गहिरिएपछि बाराको कोल्हबी नगरपालिकाका किसानलाई सिँचाइ कुलोबाट पानी संचालन गर्न समस्या भएको छ ।
खोलाको सतह गरिएर पानी लैजान प्रयोग गरिएको कुलोमा पानी नचढेपछि शुक्रवार २ दर्जनभन्दा बढी संख्यामा कोल्हबीबाट आएका किसानहरुले बकैया खोलामा बाँध बनाएर कुलो खनेका छन ।
५ दिनअघि आएको बाढीले खोलाको सतह गहिराएपछि कुलोमा पानी रोकिएको र सिँचाइ अभावमा धान खेती बिग्रन थालेपछि बाँध बाँधेर कुलो पनि गहिरो पार्नुपरेको कोल्हबी नगरपालिका वडा नम्बर ४ बगेवाका किसान रामकुमार चौधरीले बताउनुभयो ।
उहाँले सिँचाइ कुलोको बाँध पैनीबाट दक्षिततर्फ बकैया खोलामा भएको नदीजन्य पदार्थको अत्याधिक उत्खननले बगरको सतह गहिरिएको र किसानहरुले परम्पारागत रुपमा प्रयोग गर्दैआएको कुलोमा पानी चढाउन समस्या भएको जानकारी पनि दिनुभयो ।
उहाँले शुक्रवार सुचारु गरिएको बाँध पैनी सोही रात आएको अर्को बाढीले फेरि बगाएको र हाल कुलोमा पानी नचढेको बताउनुभयो ।
लामो खडेरीका कारण यस वर्ष कोल्हबी नगरपालिकाकाको बगही, भलुहिखोर, झुरझुर, हनुमानगन्ज, पुरानो काँटालगायत दर्जनौं गाउँका सयौंं किसानहरुले निजगढको बकैया खोला पुलमुनि बाँध बाँधेर धान खेतीमा सिँचाइको लागि २ वटा कुलोबाट पानी लगेका छन ।
अघिल्ला वर्षमा गाउँकै जमुनी खोलाको पानीबाट सिँचाइ गर्दैआएका यहाँका किसानले यस वर्षको लामो खडेरीले जमुनी खोलाको पानी सुकेपछि विकल्पको रुपमा बकैया खोलाको पानी प्रयोग गर्न थालेका हुन ।
विगतका वर्षहरुमा पनि लामो खडेरीले गाउँका खोलामा पानी सुकेपछि किसानहरुले निजगढ आएर बकैया बाँध कुलोबाट सिँचाइ गर्ने गरेको बगहीकै अर्का किसान रविन्द्र माझीले बताउनुभयो । तर यस वर्ष खोलाको सतह गहिरिएपछि आगामी दिनमा बकैयाको पानीबाट सिँचाइ गर्न समस्या हुने देखिएको माझीको भनाई छ ।


















