गन्जभवानीपुर,
पछिल्लो एक हप्ता पानी परेपछि मधेश प्रदेशको धान रोपाई सुधार भएको छ । सिंचाइ अभावमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत भन्दा केही बढिमात्रै रोपाइँ भएकोमा हिजो बेलुकासम्म ७६ दशमलव ५४ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार पछिल्लो हप्ता परेको पानीले थप रोपाइँ हुनुका साथै यस अघि रोपेको धानलाई पनि सिंचाइ भएको छ ।

निर्देशनालयको विवरण अनुसार मधेश प्रदेशमा आठ जिल्लामध्ये सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ । सर्लाहीमा ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी क्षेत्र बाहेक सबैतिर सामान्यदेखि मध्ययम वर्षा भएको छ । आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र तराई भागका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भाग र मधेश प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारा जिल्लाको धान खेतीयोग्य ९० प्रतिशत जग्गामा धान रोपाइँको कार्य सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
लामो समयदेखि वर्षा नभई खडेरी अवस्थामा कृषकले आफ्नो साधनस्रोतले भूमिगत सिँचाइबाट गरेको धान रोपाइँ पनि घामले सुक्न थालेकोमा साउन १६ गतेदेखि भएको वर्षाले रोपोलाई ठुलो राहत पु¥याएको ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिनुभएको छ । वर्षा भएपछि बाँकी रहेका क्षेत्रमा किसान धान रोपाइँ गर्ने कार्यमा व्यस्त रहेका छन् ।

यस वर्ष जिल्लामा विभिन्न जातका बर्खे धान (भदैया–अगनी) ४६ हजार हेक्टर क्षेत्रफलमा लगाउने लक्ष्य रहेकोमा हालसम्म जम्मा ९० प्रतिशत रोपाइँ भइसकेको तथा बाँकी रहेको १० प्रतिशत क्षेत्रफलमा पनि यसै साताभित्र सम्पन्न हुने केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ गणेश महराले जानकारी दिनुभयो ।

सरकारले मधेश प्रदेशसहित बारा जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरेपछि किसानको समस्या समाधान गर्न सुक्खा एवं खडेरीबाट तत्काल राहतका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत खोलेको सातदिने म्यादको अवधिमा करिब दुई हजार ३९८ जना किसानले आवेदन दिएको उहाँले बताउनुभयो ।

Leave a Reply