कलैया,सिम्रौनगढस्थित रेडियो बादलका प्रवन्ध निर्देशक एंव नेपाल पत्रकार महासंघका सदस्य पत्रकार नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अन्सारीले कुटपिट गरेका छन । शनिबार बेलुकी ५ः३० बजेको समयमा गाउँपालिकाले संचालन गरेको एम्बुलेन्स सेवाबारे समाचार संकलन गर्न आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहा गएको बेला गाउँपालिका अध्यक्ष अन्सारी र उनका केही मान्छेले पत्रकार बादशाहमाथि कुटपिट गरेका हुन । कुटपिटबाट घाइते बादशाहको हाल कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । बादशाहको टाउको र घाटीमा चोट लागेको बताइएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ बाराले पत्रकार बादशाहमाथि भएको कुटपिट घटनाको छानबिन गरी दोषिमाथि कारबाहीको माग गरेको छ । महासंघका अध्यक्ष रेशम तिवारीले आइतबार एक विज्ञप्ति निकालेर समाचार संकलनको क्रममा पत्रकारमाथि भएको आक्रमणले प्रेस स्वतन्त्रताको हनन भएको बताइएको छ । उता गाउँपालिका अध्यक्ष अन्सारीले भने स्थानीय चुनाबमा वडा अध्यक्षको उम्मेदबार बनेका बादशाह चुनाबमा पराजित भएपछि पत्रकारिताको आडमा आफूहरुलाई बदनाम गर्न पूर्वाग्रह राखेर समाचार लेख्दै आएको र सो विषयमा पनि छानबिन हुनु पर्ने माग गर्नुभएको छ ।