जनकपुरधाम,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले बुधवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुभएको हो ।

उहाँलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् । उहाँको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ । मतदानमा एक सय जना सांसद सहभागी भएका थिए ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम बनाउने प्रयास भैरहेको बताउनुभएको छ । प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारलाई बदनाम गर्न जालझेल गरेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश २ को सफल कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई विवादित बनाउन षड्यन्त्र भैरहेको उहाँको आरोप छ । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको उहाँको भनाई छ । मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै उहाँले आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले वितरण गरेको साइकलले प्रदेशका छोरीको सुरक्षा र शिक्षामा सहयोग भएको दावी गर्नुभयो । उहाँले संघीय सरकारको उपेक्षा, कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारका चर्चित अभियानहरु प्रभावित भएको आरोप पनि लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here