निजगढ,नदी फर्काउन भनेर निजगढ नगरपालिकाले बकैया खोलाको पुलमुनि च्यानलाइज ड्याम बनाउन शुरु गर्दा यसरी खोलो पश्चिमतर्फ फर्किएला भनेर कतिपयलाई विश्वास लागेको थिएन् । तर, धेरैले पत्याउन नसकेको त्यही काम यस पटक बाराको निजगढ नगरपालिकाले गरेको छ ।नगरपालिकाले निर्माण गरेको च्यानलाइज ड्यामका कारण यतिबेला बकैया खोलाको बाढी पश्चिमी किनारा भएर बग्न थालेको हो । नदी उत्खननबाट निकालिएको गिटी, बालुवा र ढुङ्गा थुपारेर बनाएको च्यानलाइज ड्यामले बर्खामा बकैयाको बाढी छेक्ला भनेर धेरै पत्यार नगरेका हुन ।
‘यसरी खोलो फर्किहाल्ला भनेर धेरैले सोचेका पनि थिएनन्, निजगढ नगरपालिकाका इन्जिनियर नविन खनालले भन्नुभयो, तर निरन्तरको प्रयासपछि अहिले बाढीको सबै पानी पश्चिमी किनारा भएर बग्न थालेको छ ।’

यस वर्ष अहिलेसम्म त्यति ठूलो बाढी आइनसकेको भएपनि पालिकाले निर्माण गरेको ड्याम र पश्चिमतर्फको बगर उत्खननले खोलो गहिरिएपछि आइतवार र सोमावार आएको ‘मध्यम’ खालको बाढी पश्चिमतर्फ सोझिएको हो ।
पूर्वभन्दा बगरको पश्चिमतर्फको भाग गहिरो बनेको र अब फेरि खोलो पूर्व फर्किने शंभावना कम भएको इन्जिनीयर खनालले जनाउनुभयो । बाढी नियन्त्रण गर्न यसअघि खोलाले कटान गर्दैअएको पूर्वतर्फको आर्यघाट क्षेत्रमा नगरपालिकाले तार जालीको ड्याम र स्पर पनि निर्माण गरेपछि खोलाको धार अब केही वर्षको लागि फर्किने शंभावना टरेको खनालको भनाई छ ।

च्यानलाइज ड्यामसंगै निजगढ नगरपालिकाले पूर्वी किनारामा एउटा १५ मिटर लामो र १० मिटर अग्लो स्परसहित १५ मिटर तारजालीको पर्खाल निर्माण गरेको छ । त्यसैगरी सडक डिभिजन कार्यालय हेटौडाको सहयोगमा ९६ मिटर लन्चिङ्गसहितको पर्खाल पनि निर्माण भइसेको छ ।‘अब केही वर्ष बाढीको धार पूर्वतर्फ ठोक्किने शंभावना देखिदैन, उहाँले भन्नुभयो, कथम्कदाचित् ड्याम फुटिहाले पनि पूर्वी तटमा निर्माण गरिएको ड्याम र स्परले कटान भने रोक्छ ।’
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले पनि खोलाको धार पश्चिम फर्किने क्रममा रहेको र राजमार्गको बकैया पुल आसपासको क्षेत्रमा बाढी र नदी कटानको जोखिम कम भएको बताउनुभएको छ । ‘तत्कालको लागि जोखिम कम भएको छ, उहाँले भन्नुभयो, दीर्घकालिन समाधानको लागि बकैयाको पूर्वी किनारामा तटबन्धनको थप काम गर्नुपर्ने हुन्छ ।’ उहाँले नगरपालिकाले आफ्नै स्रोत, साधन र सडक विभाग तथा डिभिजन सिँचाइ विकास कार्यालयको सहयोगमा तटबन्ध निर्माणको थप काम गर्ने पहल भइरहेको पनि जानकारी दिनुभयो । ‘सहयोग माग गरिएको छ, उहाँले भन्नुभयो, सडक र सिँचाइ कार्यालयले यसै वर्ष तटबन्ध निर्माण गर्ने आश्वासन दिएका छन ।’

पछिल्ला वर्षहरुमा बकैया खोलाको धार परिवर्तन भएर पूर्वपश्चिम लोकमार्गस्थित बकैया पुलको पक्की ड्याम र निजगढको आर्यघाटसहित आवादी क्षेत्रमा समेत जोखिम बढेपछि निजगढ नगरपालिकाले गत असार २२ गतेबाट नदी नियन्त्रणको काम शुरु गरेको थियो ।यसक्रममा पालिकाले भाडाका ३ वटा एक्साभेटर, टिपर र लोडर प्रयोग गरेर बकैया पुलमुनि खोलाको बीच भागबाट उत्तर–दक्षिण झण्डै ६ सय मिटर च्यानलाइज ड्याम निर्माण गरेको छ । २ हप्ता लगाएर गरिएको सो ड्याममा निर्माणमा स्थानीय व्यवसायीहरुले नगरपालिकालाई टिपर र लोडर निःशुल्क उपलब्ध गराएका थिए ।

Leave a Reply