सप्तरी,सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा मंगलवार राति गोली चलेको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको ज्यान गएको छ ।गएराति साढे १० बजेतिर प्रहरी टोलीले मदिरा तस्करलाई धरपकड गर्ने क्रममा गोली चलेको हो ।
प्रहरीले केही कार्टुन जाँडरक्सी पनि बरामद गरेको छ । सामान लिने भारतीय तस्करले पहिला प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।स्थानीयवासीले प्रहरीले जानाजानी गोली चलाउँदा लालुको ज्यान गएको बताएका छन् । घटनामा एक जना प्रहरी समेत घाइते भएको जानकारी प्राप्त भए पनि ती प्रहरीको थप अवस्थाबारे प्रहरीले आधिकारीक विवरण सार्वजनिक गरिसकेको छैन ।
यसैबीच प्रहरीले गोली चलाउँदा मृत्यु भएको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।प्रहरी कारबाहीमा यादवको मृत्यु भएपछि उनका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।
भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको थियो ।प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

















